Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले महाधिवेशन : रावलको पर्चा बोक्नेलाई बन्दसत्रभित्र प्रवेश निषेध

चितवन । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका भीम रालवको पर्चा बोक्नेहरुलाई बन्दसत्रभित्र प्रवेश गर्न दिइएको छैन । बन्दसत्र सुरु भएसँगै भित्र पस्न लागेका केही प्रतिनिधिहरूलाई भीम रावलको पर्चा वितरण गरिएको थियो ।

तर, पर्चा बाँड्दै मूल गेटसम्मै पुगेका रावल पक्षका कार्यकर्ताहरुलाई एमाले स्वयंसेवकहरुले यहाँ पर्चा बाँड्न पाइँदैन भन्दै बाहिर पठाइदिएका हुन् भने पर्चा हातमा लिइसकेका प्रतिनिधिहरूलाई पनि स्वयंसेवकहरुले पर्चा देखाएर भित्र पस्न दिएनन् ।

स्वयंसेवकहरुले पर्चा बाहिर ननिकालि खल्ती वा झोलामा राख्न आग्रह गर्दै हलभित्र छिराएका छन् । अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका रावलको चुनाव प्रचारसम्बन्धी पर्चा बोकेर कसैलाई पनि भित्र पस्न नदिइएको हो ।

स्रोतका अनुसार मनोनयनपत्र दर्ता नै नभएका कारण पर्चा बोकेर बन्दसत्रभित्र प्रवेशमा रोक लगाइएको हो । ​स्वयंसेवकहरुले त्यस्ता पर्चा खोसेरमात्र बन्दसत्र आयोजनास्थलभित्र प्रवेश गर्न दिएका छन् ।

बन्दसत्र आयोजनास्थलभन्दा बाहिर भने कतिपयले रावलको पर्चा बाँडिरहेका छन् । आजको बन्दसत्रले केपी शर्मा ओलीलाई सर्वसम्मत अध्यक्ष चयन गर्ने तयारी छ । तर रावलले पनि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

‘मेरो उम्मेदवारी किन’ लेखिएको भीम रावलको पर्चामा रावलले अध्यक्षमा उम्मेदवारी दिनुपर्नाका कारणबारे उल्लेख छ । शनिबार बन्दसत्रमा प्यानल तय गर्ने सर्वाधिकार अध्यक्ष ‌ओलीलाई दिँदा पनि रावलले कडा आपत्ति जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077