मोरङ । काठमाडौंको डिल्लीबजार कारागारमा अदालतको सजाय काटिरहेका कैदी अभिषेक गिरीलाई विराटनगर ल्याइएको छ।विराटनगर महानगरपालिका मधुमारा घर भएका गुन्डा नाइके अभिषेक गिरीलाई प्रशासनले बिहीबार बिहान करिब चार बजे विराटनगर कारागार ल्याइएको हो ।
दिउँसो ल्याउँदा विरोध हुने भएकोले गिरीलाई प्रशासनले सुटक्क राती सप्तरीदेखि ल्याएर विहानको राती कारागार प्रवेश गराएको सुरक्षा स्रोतले जानकारी दिएको छ।गिरीले रोजेको ठाउँमा सरुवा गर्दै आएको कारागार व्यवस्थापन विभागले उनलाई अनुकूल हुने निर्णय गर्ने क्रम जारी राखेको थियो।
यसअघि गिरीलाई बिराटनगर ल्याए असुरक्षा बढ्ने भन्दै कैदीबन्दीका आफन्तले गत असोजमा कारागार अगाडि प्रदर्शन गरेका थिए। व्यक्ति अपहरण र फिरौती असुली आरोपमा काठमाडौंको बानेश्वरबाट पक्राउ परेका गिरीलाई काठमाडौं अदालतले आठ वर्ष कैद सजाय तोकेको थियो ।
नेपाली कांग्रेस समर्थक मानिने गिरी विराटनगरमा गुन्डागर्दीका लागि चर्चित थिए । अदालतको फैसलापछि डिल्लीबजार कारागारमा रहेका कैदी गिरीले कांग्रेस नेतृत्वको सरकार आएसँगै पहुँच प्रयोग गरेर बिराटनगर आएको स्रोतको दाबी छ।
यसअघि १७ साउन ०६५ मा तत्कालीन जिल्ला विकास समिति मोरङको टेन्डर काण्डमा विराटनगर महानगरपालिका– १२ जतुवाका युवा करण यादवको हत्या अभियोगमा पनि गिरी २१ साउन ०६६ देखि पुर्पक्षका लागि जेल गएका थिए ।
गिरीलाई क्षेत्रीय कारागार सुनसरीको झुम्काबाट पेसीका लागि मोरङ जिल्ला अदालत ल्याउँदा १८ जेठ ०६८ मा अदालत परिसरभित्रै पर्शुराम बस्नेत समूहले सांघातिक हमला गरेको थियो। हमला पछि उनी उनी गम्भीर घाइते भएका थिए । आक्रमणपछि सुरक्षाका लागि भन्दै गिरीलाई मोरङ कारागारमा सरुवा गरिएको थियो। त्यतिबेला यादव हत्या आरोपमा जेल परेका गिरी एक वर्षपछि मोरङ अदालतबाट उक्त हत्या आरोपमा सफाइ पाएका थिए।
जेलबाट छाडिएपछि उनी सानमानका साथ कांग्रेसमा प्रवेश गरेका थिए । त्यसपछि केही महिना शान्त बसेका उनी काठमाडौंबाट व्यक्ति अपहरण र फिरौती आरोपमा पक्राउ परेका थिए।
गिरीलाई सम्पत्ति शुद्धीकरण विभागले पनि गुन्डागर्दी गरेर अकुत कालो धन जम्मा गरेको आरोपमा मुद्दा चलाएको थियो । विशेष अदालतको फैसलाविरुद्ध सरकारी पक्षले दर्ता गरेको पुनरावेदनलाई सर्वोच्चले अनुमति दिएसँगै आरोपमा मुद्धा चलेको थियो।
तर, तत्कालिन न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको इजलाशले गिरीको मुद्दालाई पुनरावलोकन गर्ने अनुमतिसँगै प्रत्यक्षी झिकाउने आदेश दिएको थियो। गिरीलाई विशेष अदालतले २०७५ असार ५ गते सम्पत्ति शुद्धिकरणको मुद्दामा सफाइ दिएको थियो।
विशेष अदालतका अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी तथा न्यायाधीश चन्ढीराज ढकाल र नारायणप्रसाद पोखरेलको इजलासले बस्नेतलाई सफाइ दिएको थियो ।
यस्तै,सम्पत्ति शुद्धिकरण विभागले २०७० जेठ ५ गते गिरीसहित गुन्डा नाइकेहरु गणेश लामा, पर्शुराम बस्नेत, दीपक मनाङे र चक्रे मिलन (मिलन गुरुङ) विरुद्ध मुद्दा दायर गरेको थियो।
विभागले गिरीसँग २.९४ करोड रुपैयाँ अवैध सम्पति रहेको दाबी गरेको थियो । विशेष अदालतबाट दीपक मनाङे, चक्रे मिलन र पर्शुराम बस्नेतले पनि सम्पति शुद्धिकरणको मुद्दामा सफाइ पाएका थिए। अदालतले गणेश लामालाई मात्र दोषी ठहर गरेको थियो ।
Leave a Reply