Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पूँजीगत खर्च नबढेकोप्रति अर्थमन्त्रीको असन्तुष्टि

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पूँजीगत खर्च विद्यमान प्रणालीबाट उल्लेख्यरूपमा वृद्धि नभए नयाँ प्रणाली अपनाउनुपर्ने बताएका छन् ।

आज अर्थ मन्त्रालयमा बसेको आर्थिक वर्ष २०७८–०७९ को प्रथम प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा पूँजीगत खर्च उल्लेख्यरूपमा नबढेकोप्रति असन्तुष्टि जनाउँदै उनले विद्यमान प्रणालीमा अर्को एक महिनासमेत खर्च नबढे नयाँ विकल्प अवलम्बन गर्नुपर्ने बताएका हुन् ।

“यदि पूँजीगत खर्च यो तरिकाले हुन्न भने म अर्को तरिका सोच्दैछु”, उनले भने, “अरू एक महिनासमेत पर्खेर हुँदैन भने नयाँ तरिकाबाट खर्च गर्नुपर्छ भन्ने मान्यता छ । खर्च चाहिँ जसरी पनि गर्नुपर्छ ।” उनले नयाँ प्रणालीबारे सबै मन्त्रालयलाई अवगत गराएर अवलम्बन गर्नुपर्ने बताए ।

मन्त्री शर्माले आयात घटाउने आधार हुँदाहुँदै पनि नघटेकोप्रति समेत असन्तुष्टि जनाए । आयात नघट्दा व्यापार सन्तुलन तथा विदेशी मुद्रा सञ्चितिमा दबाब परेको भन्दै उनले अब पनि आयात नघटे बलपूर्वक घटाउनुपर्ने अवस्था आउन सक्ने बताए ।

मन्त्री शर्माले लघुवित्तको ब्याज घटाएर एकल डिजिटलमा झार्दै साना किसान तथा लगानीकर्तालाई ऋण उपलब्ध गराउनुपर्ने, कृषि विकास बैंकको नाम परिवर्तन गर्नुपर्ने तथा डिजिटल कारोबारलाई व्यापक गर्नुपर्नेसमेत बताए ।

बैठकमा अर्थसचिव मधुकुमार मरासिनीले तरलताको चापलाई घटाउन सुन आयातमा निगरानी गर्नुपर्ने बताए । उनले हुण्डीमार्फत नेपाल पैसा पठाउँदा विदेशी मुद्रा उतै रहने र त्यसले सुन कारोबार भइरहेको बताए । त्यसले विप्रेषणमा समेत नकारात्मक असर गरेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077