Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सशस्त्र प्रहरीद्वारा भारतीय सीमा नाकाबाट दुई करोड बराबरको तस्करीका सामान बरामद

विराटनगर । सशस्त्र प्रहरीले छिमेकी मुलुक भारतसँग सीमा जोडिएका प्रदेश १ का विभिन्न जिल्लाहरुबाट करिब दुई करोड मूल्य बराबरको तस्करीका सामान बरामद गरेको छ।

सशस्त्र प्रहरी बल प्रदेश १ का अनुसार पछिल्लो दुई महिनामा सीमाबाट भन्सार छली गर्दै नेपाल भित्रिएका विभिन्न सामानहरु (लत्ताकपडा, चिनी, सूर्ति)लगायतका किराना सामग्री र दैनिक उपभोग्य वस्तु बरामद गरिएको हो।

सशस्त्रले असोज पहिलो सातादेखि हालसम्म एक करोड ९८ लाख ३८ हजार आठ सय ३४ रूपैयाँ बराबरको अवैध सामान नियन्त्रणमा लिएर कारबाहीका लागि भन्सार कार्यालयमा बुझाएको जानकारी दिएको छ।

जसमध्ये इलामबाट २६ लाख ६२ हजार चार सय १०, झापाबाट ७७ लाख ४४ हजार सात सय ५१, मोरङबाट ३४ लाख ८६ हजार नौ सय ८९ र सुनसरीबाट १३ लाख २१ हजार ५६ रूपैयाँ बराबरको सामग्री बरामद भएको छ।

यता सशस्त्रको १ नम्बर बराह बाहिनी इटहरीबाट खटिएको टोलीले मात्रै ४६ लाख दुई हजार छ सय २८ रूपैयाँ बराबरको तस्करीका सामग्री बरामद गरेको थियो । जसमा एक सय ९१ किलोग्राम गाँजा, १३ पिस ट्रामाडोल, १६ ग्राम तीन मिलिग्राम ब्राउन सुगर (खैरो हेरोइन), चार सय ९२ ट्याब्लेट नाइट्रोजेपाम, ४२ बोतल इस्कुफ कफ सिरप, ९५ एम्पुल लुपिजेसिक, १८ एम्पुल डाइजापाम, १८ एम्पुल फेनारगन, १० पत्ता नाइट्रोसन, ४१ एम्पुल एभिल र एक सय ५९ ट्याब्लेट स्पास्मोप्रोक्सिभन रहेका छन्।

बरामद भएका सामानहरुसहित पक्राउ परेका व्यक्तिहरुलाई आवश्यक थप अनुसन्धानसहित कारवाहीका लागि भन्सार कार्यालयमा बुझाए सशस्त्र प्रहरी प्रदेश एकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077