Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • मुम्बई प्रहरीका पूर्व इन्काउन्टर स्पेसलिष्ट नेपाल पसेको भारतको दाबी

    मुम्बई प्रहरीका पूर्व इन्काउन्टर स्पेसलिष्ट नेपाल पसेको भारतको दाबी

    अनलाइन नेपाल
  • बिहिबार, २ मंसिर २०७८
  • 2.5K
    SHARES

    काठमाडौं । मुम्बई प्रहरीका ‘इन्काउन्टर स्पेसलिष्ट’ पूर्वप्रहरी प्रमुख परमविर सिंह नेपाल पसेको भारतीय मिडियाले दाबी गरेका छन् ।

    भारतीय मिडियाका अनुसार गत अक्टोबर १ देखि बेपत्ता रहेका सिंह नेपालमा लुकेर बसेका छन्।



    उनीमाथि भारतका व्यापारी मुकेश अम्बानीको घर अगाडी बिष्फोटक पदार्थ राखेको घटनामा संलग्नताको आरोप लागेको छ । घटनापछि उनलाई त्यहाँबाट होमगार्डमा सरुवा गरिएको थियो । त्यसको केहीमहिनामै छुट्टी लिएर बसेका उनी बेपत्ता भएका थिए ।



    यसबारे बीबिसीले गत कार्तिक २६ गते समाचार प्रकाशित समेत गरेको थियो।

    उनको बारे बीबीसीले तयार पारेको एक समाचार यस्तो छः

    गत अक्टोबर १ मा भारतीय अधिकारीहरूले मुम्बई प्रहरीका पूर्वप्रमुख हराइरहेको उदेकलाग्दो घोषणा गरे । दुई वर्षअघि उनलाई भारतको आर्थिक राजधानीका रूपमा चर्चित मुम्बईमा प्रहरी प्रमुख नियुक्त गरिएको थियो। उनले ४५ हजार प्रहरीको नेतृत्व गरेका थिए।

    तर, ५९ वर्षीय परमबिर सिंह अहिले न आफ्नो कार्यालय गएका छन् न त मुम्बईस्थित अपार्टमेन्ट नै । चण्डीगढस्थित उनको पुर्ख्यौली घरमा पनि उनको अत्तोपत्तो छैन।

    मुम्बई प्रहरीले आफ्नो पूर्वप्रमुखको खोजी सुरु गरेको छ। तर मुम्बईमा उनीसँगै बस्ने श्रीमती र छोरी तथा विदेशमा बस्ने छोरा अनि उनका वकिलहरू सिंह कहाँ छन् भन्ने विषयबारे मौन छन्।

    यो घटनाको जालो गत फेब्रुअरी महिनामा एशियाका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीको घरनजिकै विस्फोटक पदार्थ भरिएको एउटा गाडी फेला परेसँग जोडिन्छ।केही दिनपछि उक्त गाडीका कथित धनीको शव सहरनजिकै समुद्रमा फेला पर्‍यो। प्रहरीले उनको हत्या भएको र शव फ्याँकिएको निष्कर्ष निकाल्यो।

    मृतकसँग परिचित एक प्रहरी अधिकृत पक्राउ परेपछि घटनाक्रमले थप जटिल मोड लियो।

    अपराध शाखामा कार्यरत सहायक निरीक्षक सचिन वाझे मुकेश अम्बानीको घरबाहिर फेला परेको विस्फोटक पदार्थ भरिएको गाडी र माथि उल्लिखित हत्यासँग सम्बन्धित योजनामा संलग्न भएको अनुसन्धानकर्ताहरूको विश्वास छ। तर वाझेले आरोप अस्वीकार गरेका छन्।

    मार्च महिनामा सिंहलाई आफ्नो पदबाट हटाइयो। उनलाई प्रहरीलाई सहयोग गर्ने कम स्रोतसाधन रहेको होम गार्डको प्रमुख बनाइयो। भारतीय सञ्चारमाध्यमहरूका अनुसार उनलाई दण्डित गर्न त्यसरी सरुवा गरिएको हो।

    ‘यो सामान्य सरुवा होइन। मुम्बई प्रहरी आयुक्तको कार्यालयमा काम गर्ने अधिकारीहरूले गम्भीर गल्ती गरेका छन्। यी गल्तीहरू गम्भीर छन् जसकारण उनको सरुवा गरिएको हो,’ राज्यका तात्कालिक आन्तरिक मामिलामन्त्री अनिल देशमुखले भनेका थिए।

    आन्तरिक मामिला मन्त्रालयअन्तर्गत रहेर नै मुम्बई प्रहरीले काम गर्छ। तर ती गम्भीर गल्तीहरू के थिए भन्ने कुरा भने कहिल्यै स्पष्ट पारिएन। सिंह मध्य मार्चतिर आफ्नो पुरानो कार्यालयभन्दा केही किलोमिटर टाढा रहेको नयाँ कार्यालय गए।

    मन्त्रीमाथि आरोप
    लगत्तै उनले देशमुखलाई असुली र भ्रष्टाचारको आरोप लगाउँदै सरकारलाई एउटा चिठी पठाए। तर कुनै प्रमाण भने पेस गरेनन्। मुख्यमन्त्री उद्धव ठाकरेलाई सम्बोधन गरेर लेखिएको पत्रमा देशमुखले वाझेलाई सहरका बार अनि होटेल सञ्चालकहरूबाट घुसका रूपमा करोडौँ रुपैयाँ जम्मा गर्न लगाएको आरोप लगाएका थिए।

    देशमुखले ती आरोपहरू अस्वीकार गरे। तर उनी एप्रिल महिनामा पदबाट राजीनामा गर्न बाध्य भए। त्यसपछि केन्द्रीय तहको वित्तीय अनुसन्धान निकायले देशमुखमाथि छानबिन सुरु गर्‍यो। उनलाई पाँच पटक सोधपुछका लागि बोलाइयो।

    नोभेम्बर महिनामा पूर्वमन्त्री देशमुख पक्राउ परे। परमवीर सिंहतिर सङ्केत गर्दै देशमुखले भने, ‘ममाथि आरोप लगाउने व्यक्ति देश छोडेर भागेको छ।’

    छुट्टी लिएर बेपत्ता
    यसैबीच मे महिनामा परमवीर सिंहले उपचारका लागि बिदा लिए र दुई पटकसम्म छुट्टीको अवधि थपे । त्यसपछि उनी बेपत्ता भए।

    मुम्बईको सम्भ्रान्त वर्गको बसोबास रहेको मालाबार हिल्समा अवस्थित निवासमा उनकी पत्नी र छोरीले सिंह कहाँ छन् भन्ने विषयमा केही बोलेका छैनन्।

    उनका वकिल अनुकूल सेठसँग  सम्पर्क गर्दा उनले प्रतिक्रिया दिन नमानेको बीबीसीले उल्लेख गरेको छ।  एउटा समाचार च्यानलले सिंह रुसमा रहेको दाबी गरेको छ भने अर्कोले बेल्जियममा गएको समाचार प्रसारण गरेको छ।

    “हामी उनको खोजी गरिरहेका छौँ। सरकारी अधिकारी भएकाले सरकारको स्वीकृतिबिना उनी देशबाहिर जान मिल्दैन…। यदि उनी गए भने त्यो राम्रो हुँदैन,” नवनियुक्त आन्तरिक मामिलामन्त्री दीलिप वाल्से पाटिलले सञ्चारकर्मीहरूसँग भने।

    महाराष्ट्र सरकारले यो विषयबारे छानबिन गर्न एक अवकाशप्राप्त न्यायाधीशको नेतृत्वमा समिति गठन गरेको छ। सिंहविरुद्ध घरजग्गा व्यवसायी, होटेल व्यवसायी र सट्टेबाजहरूले असुलीसँग सम्बन्धी चारवटा मुद्दा दर्ता गराएका छन्।

    देशमुखमाथि भने हालसम्म कुनै अभियोग लगाइएको छैन। उनलाई नोभेम्बर १२ तारिखसम्म हिरासतमा राखिएको छ।

    अनुत्तरित प्रश्न
    समितिले सोधपुछका लागि बोलाउँदा सिंह उपस्थित हुन नचाहनुले मुद्दा थप जटिल बनेको छ।

    समितिसमक्ष उपस्थित हुनुको साटो सिंहले आफ्ना वकिलहरूमार्फत् अदालतमा एउटा निवेदन दिएका छन् । त्यसमा उनले छानबिनलाई नै चुनौती दिएका छन्।

    वकिलहरूले सिंह समितिसँग सम्पर्कमा रहेको बताउँदै उनी कानुनबाट नभागेको तर्क गरेका छन् । यो घटनाबारे स्पष्ट रूपमा धेरै कुरा थाहा हुन सकेको छैन।

    के उनी बेपत्ता हुनुको अम्बानीको घरनजिकै विस्फोटक पदार्थ भरिएको गाडी फेला परेको घटनासँग केही सम्बन्ध छ ? देशमुखले के कारण सिंहको सरुवा गरे ? मन्त्रीविरुद्ध गम्भीर आरोप लगाएपछि सिंह किन गायब भए ? सिंह किन छानबिन समितिसमक्ष उपस्थित भएका छैनन्? हालसम्म यी प्रश्नहरूको अनुत्तरित छन्।

    परमवीर सिंह को हुन् ?
    समाजशास्त्रमा स्नातकोत्तर गरेका परमवीर सिंहका बुवा सरकारी अधिकारी थिए भने आमा गृहिणी थिइन्। उनी फरासिलो स्वभावका थिए र तन्दुरुस्त रहन क्रिकेट खेल्थे।

    चार दशक लामो कार्यकालमा उनी ग्रामीण भेगमा माओवादी विद्रोही र सहरी भेगमा आपराधिक गिरोहविरुद्ध उभिएका थिए। सन् १९९० को दशकमा मुम्बईमा कार्यरत हुँदा उनले भूमिगत आपराधिक गिरोह उन्मूलन गर्न बनाइएको टोलीमा काम गरेका थिए।

    त्यस बेला मुम्बई सहर विभिन्न समूहबीचको लडाइँ, अनधिकृत असुली र अपहरणजस्ता क्रियाकलापको प्रकोपमा परेको थियो। गत फेब्रुअरीमा मुकेश अम्बानीको घरनजिकै विस्फोटक पदार्थ भरिएको एउटा गाडी फेला परेको थियो

    उनले ‘इन्काउन्टर पुलिस’ का रूपमा काम गरेकाले ख्याति कमाएका थिए। साठी वर्ष पुगेपछि आगामी वर्ष उनले स्वतः सेवाबाट अवकाश पाउनेछन्।

    ‘म भारतमै छु। मैले देश छाडेको छैन,’ गत अगस्टमा एक पत्रकारसँग टेलिफोन संवादका क्रममा उनले भनेका थिए। तर उनले नेतृत्व गरेको प्रहरी बललाई उनी किन देखा परेका छैनन् वा उनी कहाँ छन् भन्ने कुरा भने थाहा छैन। (बीबीसीको सहयोगमा)

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार