Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अबैध सम्पत्ति जोड्दै प्रधानन्यायाधीशका भाई, यी हुन प्रभुशमशेरसँग सेटिङ गर्ने बिचौलियाहरु !

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सिंगो न्यायपालिकाको गरिमा नै समाप्त पारेको भन्दै यतिखेर सर्वोच्चकै न्यायाधीशहरुले इजलास बहिस्कार गरेर राजीनामा माग गरिरहेका छन्। नेपाल बार एशोसिएसनका अध्यक्ष र केही बरिष्ठ अधिवक्ताले त राणालाई बिचौलियाको नाइके भन्दै भाई प्रभुशमशेरमार्फत बिदेशमा अकुत सम्पत्ति थोपरेको सार्वजनिक रुपमै आरोप लगाएका छन्। राणाको राजीनामा माग गर्दा पनि उनी अझै गलेका छैनन ।

बरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश राणामाथि हरेक मुद्दामा भाइलाई परिचालन गरी सेटिङका आधारमा फैसला गरेको सार्वजनिक रुपमै बोलेका थिए  ।  भाइ प्रभुशमशेर राणालाई परिचालन गरी राणाले मुद्दामा चलखेल गरेको आरोप  थापाले नै लगाएका छन् ।

राणा न्यायाधीश नियुक्ति भएदेखि नै उनले हरेक मुद्दामा सेटिङका आधारमा आदेश दिने गरेको उनका फैसला अध्ययन गर्दा पनि प्रष्ट हुन्छ । तत्कालीन पुनरावेदन अदालत बिराटनगरदेखि विशेष अदालतमा हुँदा होस् कि सर्वोच्चको न्यायाधीश हुँदा तासलाई बुद्धिको खेल भन्ने,  भ्रष्टाचारका मुद्दालाई सफाइ दिने, बीरगंजको सार्वजनिक छपकैया पोखरी नातेदारको नाममा दर्ता गर्न आदेश दिने, क्यासिनोलाई अन्तरिम आदेशका भरमा संचालन गर्न दिनेदेखि एनसेलको पूँजीगत लाभकरमा दिएको उन्मुक्ति उदाहरण हुन ।

प्रधानन्यायाधीश राणाले सर्वोच्च अदालतको नेतृत्व गरेपछि न्यायपालिकामा खुलमखुला घुस लेनदेनका आधारमा फैसला हुँदै आएको छ । मुख्य बिचौलियाका रुपमा चिनिएका भाइ प्रभुशमशेर राणा, दीपक तिमल्सिना, ज्योती पाण्डे र कालु गुरुङले मुद्दा सेटिङ गरी करोडौ रकम कमाएका छन्।  रन्जन कोइराला जस्ता श्रीमतीको जघन्य हत्या गरी सबका टुक्रा टुक्रा पारी जंगलमा फाल्ने अपराधीको १२ बर्ष कैद मिनाहा गर्दा ठूलो रकमको घुस कारोबार भएको घामजत्तिकै छर्लङ्ग छ ।

प्रधानन्यायाधीश राणाले कालु गुरुङ, ज्योती पाण्डे मार्फत् सार्वजनिक जग्गा ब्यक्तिका नाममा मुद्दामा गरेका आदेशहरुको बारेमा पनि अहिले अधिवक्ताहरुदेखि अदालतसम्म चर्चा हुन थालेको छ। दीपक तिमल्सिनाले एनसेल लाभकर प्रकरणमा ठूलो आर्थिक चलखेल गरेको सार्वजनिक भएको थियो।

प्रधानन्यायाधीश राणाले भाइ प्रभुमार्फत् मुद्दा सेटिङ गरी घुस असुली गरेका ‘कल रेकर्ड’ उपलब्ध गराउने पनि बरिष्ठ अधिवक्ता थापाले दाबी गरेका थिए । केही मुद्दामा सर्वोच्च अदालतमा दर्ता भएर प्रधानन्यायाधीश राणाले पेसी तोक्न थालेदेखि नै उनका भाइ प्रभुशमशेर राणाले ‘बार्गेनिङ’ सुरु गरेको थापाले वताएका थिए । थापाले प्रधानन्यायाधीशको नाममा अर्ब अर्बको बार्गेनिङ हुने गरेको र करोड घटीको कुरा नै नहुने गरेको वताएका थिए  ।

प्रधानन्यायाधीश राणाले कात्तिक १४ गतेका लागि आफ्नो एकल इजलासमा तोकेको मुद्दामा उनका भाइ प्रभु शमशेरले ‘बार्गेनिङ’ गरेको आरोप थापाले लगाएका छन् । आफ्ना बिरुद्ध सबै न्यायाधीशहरुले इजलास बहिस्कार गरेर आन्दोलन गरी राजीनामा माग गरिरहँदा समेत प्रधानन्यायाधीश राणाले मुद्दामा मोलमोलाई गरेको आरोप थापाले लगाएका छन् । प्रधानन्यायाधीश राणाले कात्तिक १४ गतेका लागि आफूसहितका ८ वटा संयुक्त र ४ वटा एकल गरी १२ इजलास गठन गरेका थिए ।

प्रधानन्यायाधीश राणाले आफ्नो एकल इजलासमा २ वटा मुद्दाको पेसी तोकेका थिए । उच्च अदालत पाटनविरुद्ध भेषराज लोहनीले दायर गरेको मुद्दालाई पनि राणाले आफ्नो इजलासमा तोकेका थिए । प्रधानन्यायाधीश राणाले लोहनीको मुद्दालाई हेर्दाहेर्दैमा राखेका थिए । लोहनीको मुद्दा हेर्दाहेर्दैमा राख्दासम्म राणका भाइ प्रभुशमशेरले मोलमोलाई गरेको प्रमाण आफूसँग रहेको थापाले खुलासा गरेका छन् । प्रधानन्यायाधीश राणाको कात्तिक १४ गतेको इजलासले हेर्दाहेर्दैमा राखेको उक्त मुद्दाको अर्को पेसी कात्तिक ३० गते रहेको छ ।

बरिष्ठ अधिवक्ता थापाले प्रधानन्यायाधीश राणाले अबैध बाटोबाट गुप्तरुपमा पैसा (मनी साइफनिङ) विदेश पुर्याएको र उनीमाथि राज्यले अनुसन्धान गर्नुपर्ने माग गरेका छन् । उनले भनेका छन्–‘नेपालका बिचौलियाले उठाएको पैसाले अमेरिकामा कसैले पीआर लिएर बसेको र कसैको नाममा ग्यास स्टेशन किनिएको छ’ थापाले भने, ‘कसैलाई होटल किनिदिएको र केही पैसा सोही बाटोबाट नेपाल ल्याइएको छ ।’

बरिष्ठ अधिवक्ता थापाले चोलेन्द्रशमशेरका बिचौलियाले अमेरिकामा ग्याँस स्टेसन किनेको भन्नु र अमेरिकी ग्रिनकार्ड होल्डर हरिबोल भण्डारीले उनका भाइबाट हालै  मात्र  अपार्टमेन्ट खरिद गरेको प्रकरणलाई  संयोगमात्र मान्न कोही तयार छैनन् ।

प्रभुशमशेरले एक व्यापारीबाट घुसबापत पाएको कालिकास्थानको सिल्भरसिटी अपार्टमेन्टका २ खण्ड   ८ करोडमा बिक्री गरिसकेका छन् ।

स्रोतका अनुसार  गैरआवासीय नेपाली भण्डारीले नै केही महिनाअघि सिल्भरसिटीको उक्त अपार्टमेन्ट प्रभुशमशेरबाट खरिद गरेका हुन ।

स्रोत भन्छ, 'अमेरिकी पीआर भएकाले उनले प्रभुशमशेरलाई रकम पनि उतै ब्यवस्थापन गरिदिएका छन् ।'  पहिला भाटभटेनी डिमार्टमेन्टका संचालक मीनबहादुर गुरुङमार्फत् नेपालबाट सम्पत्ति विदेश लाने काम गर्दैआएका प्रभुशमशेरले बालुवाटारको २२ आना जग्गा बेचेर आएको रकम पनि  अमेरिकास्थित आफ्ना मानिससम्म पुर्याइसकेको स्रोतको दावी छ ।

अर्कोतिर भैरहवामा लिलाममा गएको कोर इन्स्टुमेन्ट एण्ड माउन्ड प्रालि  प्रभुशमशेरको नाममा लिलाम सकारिएको कुरा पनि बरिष्ठ अधिवक्ता  थापाले उठाएका छन् । प्रभुशमशेरले भैरहवाकै सिल्भर हेरिटेज ग्रुप अन्र्तगतको टाइगर प्यालेस रिसोर्टमा पनि  बिबादास्पाद व्यापारी राजेन्द्र बजगाईमार्फत आर्थिक चलखेल गर्दै आएका छन्।

सिल्भर हेरिटेजले टाइगर प्यालेस बेच्नका लागि भैरहवाका कारोबारी बालकृष्ण भुसालको भुसाल इन्भेष्टमेन्ट, सम्राट ग्रुप र अमेरिकी एनआरएन खगेन्द्र जिसीसँग सम्झौता गरेपछि  प्रभुशमशेर र बजगाईको 'इन्ट्री' भएको हो। भुसाल समूहले साढे तीन अर्बमा टाइगर प्यालेस किन्ने सम्झौता गरेको थियो। अदालतले उक्त रिसोर्ट किनबेच गर्न नदिन अन्तरिम आदेश दिएको महिनौ बितिसकेको छ। यसैमा मिलाउने नाममा  प्रभुशमशेर र बजगाईले आर्थिक चलखेल गरेको स्रोत वताउँछ।

बजगाई पहिल्यै नै त्यहाँबाट बाहिरिए पनि प्रभुशमशेरलाई प्रयोग गरी बिचौलियाको भूमिका खेलेर किनबेच गर्न नदिएको एक व्यापारी दाबी गर्छन्।

त्यस्तै, बानेश्वरमा रहेको प्रभुशमशेरको आइपेक्स मलको  बिषय पनि बरिष्ठ अधिवक्ता थापाले उठाएका छन् । 'चोलेन्द्रशमशेर पहिला धनाढ्य होइनन, सामान्य आर्थिक हैसियतका हुन्, हिंडेरै जाने र हिंडेरै आउने मानिस हुन्', थापाले भनेका छन् ।

दाजुको कार्यकाल १३ महिनामात्रै रहेको र भ्रष्टाचार र अधिक शक्तिको दुरुपयोगका कारण उनको पद नै संकटमा परेपछि प्रभुले सेटिङबाट जोडेको अबैध सम्पत्ति दुबई र अमेरिकातिर पठाउन थालेको स्रोतको दावी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077