काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई शासन गर्ने भए चुनाव लडेर आउन चुनौती दिएका छन्।
बुधबार गणेशमान स्मृति शान्ति प्रतिष्ठानले शान्तिबाटिकामा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले गणतान्त्रिक शासन व्यवस्थाविरुद्ध नलाग्न शाहलाई चुनौती दिएका हुन्।
कार्यक्रममा शाहमाथि खनिएका प्रधानमन्त्री देउवाले आफूलाई त्यतिबेला शाहले जेल हालेको स्मरण समेत गरे।
उनले भने,'मैले प्रजातन्त्रबाहेक सबै कुरा सुम्पिन तयार छु भनेको थिए, तर उनले मलाई जेल हाले, देउवाले थपे, 'त्यतिबेलादेखि नै गणतन्त्रको माहोल शुरु भयो ।’
‘शासन गर्ने भए चुनाव लडेर आउनुस्, प्रजातन्त्रमा त्यो सुविधा छ’ देउवाले भने, ‘शासन व्यवस्था विरुद्ध नलाग्नुस् ।’
कार्यक्रममा प्रतिष्ठानले त्रिभुवन विश्वविद्यालयका प्राध्यापक खगेन्द्र भट्टराईलाई स्वर्णपदकबाट सम्मान गरेको थियो ।
प्रजातन्त्र पुनःस्थापनाका लागि विसं २०४६ मा भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर सिंहको १०७औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ।