एजेन्सी । विश्वका एक सयभन्दा बढी देशका नेताहरूले सन् २०३० भित्र वन विनाश रोक्न सहमत भएका छन् । स्कटल्यान्डको ग्लास्गोमा आयोजित जलवायु सम्मेलन कोप–२६ मा सहभागी विभिन्न देशका प्रतिनिधिहरु वन विनाश रोक्न सहमत भएका हुन् ।
पछिल्लो समय ब्राजिलको एमेजन वन विनाश हुँदै जाँदा विश्वभर त्यसको असर देखा परिरहेको छ । यद्यपी अहिले भने ब्राजिलले पनि सहमतिको पक्षमा हस्ताक्षर गरेको जनाइएको छ ।
उक्त कार्य कार्यान्वयनमा ल्याउन खर्च हुने १९.२ अर्ब डलर सार्वजनिक तथा निजी कोषबाट समाविष्ट हुने पनि जनाइएको छ ।
हुनत सन् २०१४ मा पनि वन विनाश रोक्न सहमति नगरिएको भने होइन् । तर, त्यो प्रभावकारी हुन नसकेपछि जलवायु क्षेत्रका विज्ञहरूले पछिल्लो कदमको स्वागत गर्दै वचनबद्धता सार्वजनिक गरिनुभन्दा पूरा हुनुपर्नेमा जोड दिएएका छन् ।
रूख काटेपछि पृथ्वीलाई तताउने कार्बनडाइअक्साइड ग्यास सोस्ने वनजंगल मासिने भएकाले जलवायु परिवर्तन हुन्छ ।
क्यानडा, ब्राजिल, रुस, इन्डोनेसिया र कंगोले पनि सहमतिमा हस्ताक्षर गर्नेछन् । ती देशमा विश्वभरको ८५ प्रतिशत वन क्षेत्र पर्छ । १९.२ अर्ब डलरमध्ये केही रकम वन क्षेत्र पुरानो अवस्थामा फर्काउन, डढेलोसँग संघर्ष गर्न र स्थानीय आदिवासी समुदायलाई सघाउनका लागि खर्च गरिने जनाइएको छ ।
२८ देशले खाद्य पदार्थ तथा पाम तेल, सोया र कोकाजस्ता अन्य कृषिजन्य वस्तुको व्यापारमा वन विनाश हटाउने वाचा गरेका बीबीसीले जनाएको छ । त्यस्ता सामग्री उत्पादन गर्नका लागि रूख काटेर पशुपालन वा खेती गर्दा वन विनाश बढ्ने गरेको छ ।
त्यसैगरी, विश्वका ३० भन्दा बढी ठूला कम्पनीले वन विनाशलाई प्रश्रय दिने गतिविधिमा लगानी नगर्ने वाचा गरेका छन ।
ब्राजिलको एमजन वर्षावनबारे अध्ययन गरेकी अर्की विज्ञ एना याङले पछिल्लो सहमतिमा धेरै देश, पैसा र पात्रहरू जोडिएका भए पनि लक्ष्य प्राप्त गर्न आफूभित्रको राक्षसी प्रवृत्तिलाई सुधार्नुपर्ने बताइन् ।
उनले भनिन–‘कोप–२६ मा यो निकै महत्त्वपूर्ण कदम हो । वैश्विक तापमान वृद्धि १.५ डिग्री सेल्सियसभन्दा कममा झार्नका लागि यो महत्त्वपूर्ण हुन्छ ।’
Leave a Reply