रौतहट । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीमाथि खनिएका छन् ।
गृह जिल्ला रौतहट पुगेका पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले मंगलबार चन्द्रनिगाहपुरमा पत्रकार भेटभाट कार्यक्रममा ओली गफाडीको नम्बर वान भएको समेत बताए ।
संसदीय चुनावका बेला आफ्ना पक्षका मानिसलाई टिकट दिँदा ओलीले पूर्वाग्रह राख्ने र पत्तासाफ गर्न लागिपरेको बताउँदै उनले आफूले पनि अब ओलीलाई धुलो चटाइदिने बताए ।
उनले झोक्कीदै भने–‘मलाई त उनले पिँधमै पुर्याउन खोजे अब म धुलो चटाइदिन्छु ।’
केपी शर्मा ओलीले घर–घरमा ग्यास बाल्दिसकेको र पानी जहाज पनि सञ्चालन गरिसकेको भन्दै उनले ओलीप्रति ओक्रोश समेत पोखेका थिए ।
कार्यक्रममा उनले भने–‘ंउनी लास्टै गफाडी हुन् । उनका कुराहरु टिपोट गर्दै जानुस् । ओलीले बोलेका के–के कुराहरु पूरा गरे ? त्यो पनि टिपोट गर्नुहोला । ओलीजी गफाडी नम्बर वान हो । उनले घरघरमा ग्यास बाल्दिसके । पानी जहाज सञ्चालन गरिसके । जहाज चढ्न टिकट काटिसक्नु भयो होला । अब त्यो टिकटको पैसा फिर्ता माग्नुस् ।’
अध्यक्ष नेपालले सर्वोच्च अदालतमा अहिले देखिएको समस्या प्रधानमन्त्री शेरबहादुर देउवा विदेशबाट आएलगत्तै पाँच दलको बैठक बसेर निकाश निकाल्ने बताए ।
गठबन्धनबीच छलफल हुन नपाएकाले अदालतबारे ठोस निर्णय लिन नसकेको भन्दै उनले भने–‘अदालतको मामलामा कतिसम्म र के गर्ने भन्ने चाँडै टुग्याउँछौँ । सम्मानजनक निकाश दिन्छौँ ।’
अध्यक्ष नेपालले अहिलेको गठबन्धनबीचको सहकार्य आगामी चुनावसम्म कायम रहने दोहोर्याए ।
Leave a Reply