काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा असफल भएको बताएका छन् ।
आइतबार प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्न नेपाल बार एसाेसिएसनले आयोजना गरेकाे धर्नापछि संचारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै अधिवक्ता थापाले संवैधानिक प्रक्रियाअनुसार प्रधानन्यायाधीश राणा असफल भइसकेको बताए।
यस्तै, अधिवक्ता थापाले प्रधानन्यायाधीश जबराले आफ्नो कामको मूल्यांकन आफैँ गर्न नसक्ने भए पूर्वप्रधानन्यायाधीशहरूको एउटा इजलास गठन गर्न पनि चुनौती दिएका छन्।
यसैगरी, थापाले राजीनामा नदिए महाभियोग लगाउनुपर्ने भन्दै थापाले राजनीतिक दलहरु अहिले परीक्षामा रहेको बताए ।
‘इजलासमा बस्दिन भनेर घोषणा गरिसकेपछि इजलास चलाउन नसक्ने यी प्रधानन्यायाधीशलाई हामीले प्रधानन्यायाधीश मानिराख्नुपर्ने अवस्था छैन,’ उनले भने, ‘जति सेवाग्रही मारमा छन्, त्यति नै हामी पनि मारमा छौं ।’
थापाले बारको आन्दोलन विथोल्न गोप्य रुपमा कालो कोट र पैसा बाँडिएको आरोप लगाउँदै सार्वजनिक रुपमा बाहिर आएका प्रधानन्यायाधीशलाई पद बस्न नदिने चेतावनी दिए ।
‘अदालतभन्दा पनि ठूलो बार हो, न्यायालयको संरक्षण गर्न बारले राजीनामा मागिसक्यो भने तपाई को हो राजीनामा नदिने ?’ थापाले प्रश्न गरे, ‘प्रतिकार गर्ने नाउमा कालो कोट बाँडिएको छ । पैसा बाँडिएको छ । पत्रकारलाई अन्य प्रकारले लोभ लालचमा फसाउन खोजिएको छ’, उनले थपे, ‘यदि त्यस्तो थाहा पायौं भने तपाईलाई त्यो पदमा बस्न दिन्नौ भन्ने घोषणा गर्छौं । हाम्रो विनम्र अनुरोध छ, यसमा यो त्यो गरेर नखेल्नुस् ।’
यता, सर्वोच्च अदालतमा इजलास बन्द गर्न नहुने र इजलास सुचारुको माग गर्दै रिट दर्ता गर्न सर्वोच्च पुगेका कानुन व्यवसायी र सर्वसाधरणलाई प्रहरीले लखेटेको छ।
प्रहरीले करिब ४० जना कानुन व्यवसायीसहित सर्वसाधारणहरुलाई लखेटेर माइतीघर पुर्याएको स्रोतले जानकारी दिएको छ।
स्रोतका अनुसार रिट दर्ता गर्न सर्वोच्च पुगेका सेवाग्राहीहरुलाई प्रहरीले लखेटेर माइतीघरतिर पुर्याएको हो। उनीहरुले इजलास बन्द गर्न नहुने र न्यायाधीशहरुले सर्वसाधारणको समस्या बुझेर काम फर्किनुपर्ने माग गरेका छन् ।
Leave a Reply