काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले मन्त्री बिरोध खतिवडालाई गुमराहमा राख्दै मनपरी निर्णय गर्न थालेका छन्।
खतिवडा मन्त्री भएर आएपछि पनि सचिव पोखरेलको सेटिङ यथावत छ । मन्त्रालय अन्तर्गतका निर्देशकदेखि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट(मेसु) हरुको सरुवामा चलखेल भएको छ।
सचिव पोखरेलको स्वार्थमा अस्पतालहरुमा उपकरण खरिदमा सेटिङ गर्न नवौं तहका बरिष्ठ जनस्वास्थ्य प्रशासक भीमप्रसाद सापकोटालाई ल्याइएको छ ।
महाशाखा प्रमुखमा रिता भण्डारी जोशी भए पनि उनलाई स बेवास्ता गर्दै सबै सेटिङ सापकोटामार्फत् हुने गरेको कर्मचारी स्रोत वताउँछ।
सचिव डा.पोखरेलले मातहतका अस्पतालहरुमा कतिसम्म हस्तक्षेप गर्दछन् भन्ने दृष्टान्त ट्रमा सेन्टर भएको छ । सचिव पोखरेलकै योजनामा कनिष्ट भए पनि ट्रमा सेन्टरको निमित्त निर्देशक भएका डा.प्रमोद जोशीले ट्रमा सेन्टरको फार्मेसीमा कार्यरत ७ औं तहका फार्मेसी अधिकृत रुपा राणालाई फालेर करारका अनुप खत्री क्षेत्रीलाई राखेका छन् ।
सचिव पोखरेलकै दबाबमा रुपालाई फाली खत्रीलाई करारमा राखिएको स्रोतले जानकारी दिएको छ । अनियमिततामा मुछिएका, विवादित र आस्थाका आधारमा सरुवा गर्न सचिव डा. रोशन पोखरेलले नै लागिपरेको वताइएको छ ।
सचिव पोखरेल कांग्रेस निकट स्वास्थ्यकर्मी संघका अध्यक्ष रामजी घिमिरे र तत्कालीन राज्यमन्त्री श्रेष्ठको सचिवालयका कपिल तिमल्सिनाको सल्लाहमा चल्ने गरेका छन्। डा. पोखरेलकै डिजाइनमा परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोखरेललाई हटाएर डा. विवेक लाललाई ल्याइएको थियो । लाल अनियमिततामा मुछिएका कर्मचारीका रुपमा चिनिन्छन् । १२ औं तहमा बढुवा हुने बेलामा डा. पोखरेललाई सार्क क्षयरोग केन्द्रमा थन्क्याइएको छ । पोखरेलले कोरोना महामारीमा खोप व्यवस्थापनको महत्वपूर्ण जिम्मेवारी निर्वाह गरेका थिए ।
त्यस्तै सरुवा भएको ३ महिनामै राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्रका निर्देशक डा. राधिका थपलियालाई अपमानपूर्वक स्वास्थ्य सेवा विभाग अन्तर्गत फाजिलमा राखियो । र, डा. सुनिल शर्मालाई राष्ट्रिय सूचना केन्द्रको निर्देशक बनाइयो । ४ बर्षदेखि सुनिल शर्माले केन्द्र अन्तर्गत दातृसंस्थाको बजेटबाट जनचेतनामूलक सामग्री निर्माणमा करोडौं भ्रष्टाचार गर्दैआएका छन् । त्यही भ्रष्टाचारको हिस्साको केही भाग लगेर स्वास्थ्य सचिव पोखरेललाई बुझाएपछि थपलियालाई तीन महिनामै फाली पुनः शर्मालाई ल्याइएको थियो ।
शर्माले आर्थिक बर्ष २०७३/०७४ मा मात्रै नेपाली कांग्रेसका नेता दीपकुमार उपाध्यायका आफन्त शशी रिजालको की एडभर्टाइजिङलाई १९ करोडको ठेक्का सेटिङमा दिएका थिए । टेण्डर सूचना निकाल्दा नै की एडभर्टाइजिङले मात्र पाउनेगरी स्पेसिफिकेसन बनाएर सन्देशमूलक भिडियो, रेडियो सन्देश जस्ता सामग्री निर्माणको ठेक्का दिइएको थियो । की बाट शर्माले ३० प्रतिशत कमिसन लिनेगरी सेटिङ गर्ने गरेका छनु । त्यसपछि पनि हरेक बर्ष शर्माले सन्देशमूलक भिडियो अडियो जस्ता सामग्री निर्माणमा यसैगरी सेटिङमा ठेक्का दिएर करोडौं घुस लिएको आरोप छ ।
औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले सिष्टम बसाउन खोजेका थिए । तर भारतीय औषधि कम्पनीको सेटिङमा सचिव पोखरेलले नै उनलाई हठात् हटाएर २०७८ भदौ १५ मा डा. नारायण ढकाललाई नै महानिर्देशकमा लगे ।
स्वदेशी औषधि उद्योगको संरक्षण गर्ने सरकारको नीति बिपरीत भारतीय औषधि बिक्रीकर्ताहरुको हितमा तल्लीन ढकाललाई नै महानिर्देशक बनाउने कार्य पनि डा। पोखरेलले नै गरेका हुन् । विभागका महानिर्देशक ढकालले स्वदेशी उद्योगलाईसंरक्षण दिने सरकारी नीति विपरीत प्रक्रिया नै झन्झटिलो बनाइदिएको उद्योगीको आरोप छ । नेपालका औषधि उद्योगीको सुझाव विपरीत महानिर्देशकले विभागले जस्तोसुकै कागजात पनि माग्न सक्ने गरी नयाँ व्यवस्था लागू गरिदिएका छन् । भारतीय औषधि कम्पनीबाट घुस खाएर उनले स्वदेशी उद्योगलाई झन्झट खडा गर्ने कार्य गर्दैआएको गुनासोपछि उनलाई अघिल्लो सरकारका पालामा विभागबाट हटाइएको थियो ।
ढकाल ५ बर्षदेखि नै विभागको महानिर्देशकक छन् । र, औषधि सिफारिसमा उनले करोडौंको चलखेल गरेको आरोप छ । औषधि सिफारिसमा भएको अनियमितताबारेमा उनका बिरुद्ध अख्तियारले छानबिन गरी मुद्दा नै चलाउने तयारी गरे पनि तत्कालीन प्रमुख आयुक्त नवीनकुमार घिमिरेका निकट एसपी प्रवीण पोखरेललाई मागेजति रकम बुझाएर तामेलीमा हाल्न लगाएका थिए ।
पछिल्लो पटक महानिर्देशक भएपछि पनि हालसालै ढकाल र वरिष्ठ औषधी व्यवस्थापक सन्तोष केसीले ७ कम्पनीका ५२ वटा ब्राण्डका औषधीको मूल्यबृद्धिका क्रममा पनि चलखेल गरेको आरोप लागेको छ । मुल्यवृद्धि गरिएका औषधीहरु सबै विदेशी कम्पनीहरुका हुन् र ती औषधीमध्ये अधिकांश कडा रोगका बिरामीमा नियमित प्रयोग गर्ने छन् । औषधी व्यवस्था विभागले ६ महिनामा विदेशी १९० वटा ब्राण्डका औषधी नवीकरण गरेकोमा ८८ वटा ब्राण्डका ५२ औषधीमा कम्तिमा ०.५९ प्रतिशतदेखि २०.४७ प्रतिशतसम्म मुल्यबृद्धि गरिएको छ ।
सचिव पोखरेलकै योजनामा भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रका निर्देशकमा निदान अस्पतालका संचालक डा। पुकारचन्द्र श्रेष्ठलाई ल्याइएको छ । पुकारले मानवअंग प्रत्यारोपण केन्द्रमा गरेको अनियमितताका बारेमा फेहरिस्त नै सार्वजनिक भए पनि उनलाई पुनः निर्देशक बनाउँदा पनि सचिव पोखरेलले मोटै रकम लाभ लिएको आरोप छ ।
वीपी स्वास्थ्य प्रतिष्ठान : सचिव पोखरेलकै उदासिनता
स्वास्थ्य मन्त्रालयले गरेको छानविनमा नक्कली प्राध्यापक प्रमाणित भइसकेका र मेडिकल माफिया बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरी तथा अनेकौं अनियमितता मुछिएका हालका शिक्षाध्यक्ष प्रा.डा. गुरु खनाल र अस्पताल निर्देशक प्रा.डा. गौरीशंकर साहलाई प्रतिष्ठान ऐनको दफा ११९(घ) बमोजिम छानविन गरेर सिनेटबाट बर्खास्त गर्ने आधार खोज्न स्वास्थ्यमन्त्री विरोध खतिवडा नेतृत्वको छानविन समितिले केही दिनअघि प्रतिष्ठानको भ्रमण गरी आवश्यक छानबिन शुरु गरेको छ । छानबिन समितिमा राखिएका सचिव डा. पोखरेलले नै गिरीबाट लाभ लिएर उनलाई हटाउन आलटाल गरेको आरोप छ ।
खोपको बितरणमा लापरबाही, १ लाख ५० हजार डोज खोप हिनामिना
स्वास्थ्य सचिव पोखरेलले खोपको बितरणमा समेत लापरबाही गरेको तथ्य खुलेको छ । खोप लगाउने मान्छे कम भएको जिल्लामा खोप पठाउने र खोप लाउन मारामार गर्ने धेरै जबसंख्या भएको जिल्लामा थोरै खोप बाँडफाँड गरी खोपको दुरुपयोग गरिएको छ । जोन्सन खोप बिदेश जाने श्रमिकको लागि अमृत बराबर छ तर त्यो खोप लाउन नमान्ने २ न. प्रदेशमा पठाएर दुरुपयोग भएको छ । अहिलेसम्म १४ लाखले जोन्सन खोप लगाएका तथ्यांक छ तर १ लाख ५० हजार डोज जोन्सन खोप कहाँ गायब गरिएको छ ?
नेपालमा जोन्सन खोप छैन भनेर बिदेश जाने श्रमिकलाई दुःख दिई कालोबजारीमा बेच्ने जस्तो अपराधपूर्ण काम म्यानपावरहरुमा भइरहेको छ । हराइरहेको १ लाख ५० हजार डोज खोप कहाँ गयो ? म्यानपावरहरुले खोप कालोबजारीमा १ डोजको ५ हजार रुपैयाँ लिएर गरिब कामदारहरुबाट असुल्ने गरेका छन् । स्वास्थ्य मन्त्रालयले ती १ लाख ५० हजार डोज खोप कहाँ गयो, हराए भनिएका खोप कसरी म्यानपवार ब्यवसायीहरुले पाए ?
गरिब कामदारलाई ५ हजार प्रतिडोजको घुस लिएर खोप लगाइरहेको बारेमा पनि छानबिन हुने हो भने लहरो तान्दा पहरो नै आउने मन्त्रालयका अधिकारी बताउँछन् । यसबारेमा सचिब पोखरेलसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन।
Leave a Reply