काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)का संघिय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पछिल्लो समय विवादित बन्दै गएको प्रधानन्यायाधीश प्रकरणमा आफ्नो धारणा सार्वजनिक गरेका छन।
अध्यक्ष भट्टराईले बिहीबार बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै राज्यको स्थायी अंग एकपछि अर्को गर्दै पतनको संघारमा पुग्नु गम्भीर विषय भएको उल्लेख गरेका छन्।
‘सतीदेवीको अंगपतन भए झैं नेपालको राज्यका स्थायी अंग एकपछि अर्को पतनको संघारमा पुग्नु गम्भीर विषय हो', उनले लेखेका छन्। साथै, लामो क्रान्तिपछि पनि पुरानो राज्यको थोत्रा अंग जस्ताको त्यस्तै बोकेर हिँड्नुको परिणाम प्रधानन्यायाधीशको प्रकरण बनेको उनको ठम्याई छ।
यस्तै, पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले वर्तमान राज्यका प्रणालीलाई मरेकी सतीदेवीको संज्ञा दिँदै त्यसलाई बोकेर भौतारिँदै हिँड्ने की बेलैमा सदगद गर्ने ? भन्दै प्रश्न गरेका छन्।
उनले लेखेका छन्, ‘सतीदेवीको अंगपतन भए झैं नेपालको राज्यका स्थायी अंग एकपछि अर्को पतनको संघारमा पुग्नु गम्भीर विषय हो। त्यत्रो युगीन क्रान्तिपछि पुरानो राज्यका थोत्रा अंग यथावत् बोकेर हिँड्नुको दुष्परिणाम हो यो। हामी पनि महादेवले मरेकी सतीदेवीलाई काँधमा बोकेर भौंतारिएझैं गर्ने कि बेलैमा सदगत गर्ने?’