Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमालेको जालझेल, बागमतीपछि प्रदेश १ मा पनि विश्वासको मत लिन मुख्यमन्त्रीको आलटाल

काठमाडौँ । प्रदेश १ को प्रदेशसभा बैठक कात्तिक १५ गतेसम्म स्थगित गरिएसँगै बागमती प्रदेशमा विश्वासको मत लिने दिन कात्तिक १० सम्म धकेल्न सफल भएको नेकपा एमालेले प्रदेश १ मा पनि आलटाल गर्न सफल भएको छ।

आइतबार प्रदेशसभा सचिवालयले जारी गरेको सूचनामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र सत्तारुढ दल नेकपा एमालेले प्रदेशसभा बैठक सार्न माग गरी निवदेन दिएकाले बैठक स्थगित गरिएको उल्लेख छ ।

यसअघि आजको बैठकमा मुख्यमन्त्री भीम आचार्यले शुक्रबार प्रदेशसभामा पेश गरेको विश्वासको मतसमबन्धी प्रस्तावमाथि छलफल र मतविभाजन गर्ने कार्यसूची रहेको थियो ।

तर, विश्वासको मत दिने बेलामा आफ्ना केही सांसदहरुले फ्लोर क्रस गर्ने संकेत पाएपछि कांग्रेसले आजको बैठक रोक्न माग गरेको थियो । यस्तै एमालेले पनि पार्टीको पालिका अधिवेशन र पार्टीका कमिटी बैठकहरु भएकाले कात्तिक १५ गतेसम्म प्रदेशसभा बैठक स्थगित गर्न माग गर्दै सभामुखलाई पत्र पठाएको थियो।

गत भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका आचार्यले विश्वासको मत लिने सम्बन्धी प्रस्ताव असोज २५ गते सचिवालयमा दर्ता गराएका थिए । गत भदौ ९ गते एमाले विभाजित भएको भोलिपल्ट गठित आचार्य नेतृत्वको सरकारले दल विभाजनको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने थियो । तर, संवैधानिक प्रावधानको आफू अनुकूल व्याख्या गर्दै सरकारले आफ्नो आयु लम्ब्याउने प्रयास गरिरहेको थियो।

९३ प्रदेशसभा सदस्य (हाल ९२ जना) रहेको प्रदेश १ मा दल विभाजन भएसँगै एमाले नेतृत्वको सरकार अल्पमतमा छ । संसदमा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । प्रदेशमा सत्तारुढ दल एमालेसँग ४१ जना मात्रै सांसद छन् । विपक्षी गठबन्धनमा ५० जना सांसद छन् ।

प्रदेश १ को विपक्षी गठबन्धनमा कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जसपाका ३ र संघीय लोकतान्त्रिक मन्चका १ जना सांसद छन् ।

संविधानको धारा १८८ को उपधारा २ अनुसार मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल वा सरकारलाई समर्थन गर्ने दल विभाजित भए त्यसको ३० दिनभित्र संसदबाट मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्ताव पेश गर्ने र उपधारा ३ मा तत्काल कायम रहेको संसदको बहुमतबाट पारित नभए मुख्यमन्त्री पदमुक्त हुने उल्लेख छ।

गठबन्धनले नेकपा एकीकृत समाजवादी पार्टी प्रदेश १ संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077