काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले गजेन्द्र हमाललाई मन्त्री बनाउन आफूले प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब नदिएको बताएका छन्।
आइतबार नेपाल बार एसोसिएसनका टोलीसँगको छलफलमा प्रधानन्यायाधीश राणाले यस्तो बताएका हुन् । गत असोज २२ गते उद्योग मन्त्रीमा नियुक्त भएका हमाल प्रधानन्यायाधीश जबराको ‘कोटा’बाट मन्त्री बनेको भन्दै सर्वत्र आलोचना भएको थियो।
तर, यसमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै आजको बैठकमा जबराले भने, गजेन्द्र हमालसँग मेरो ससुराली सम्बन्ध २०४१ सम्म थियो । मेरी श्रीमतीको निधन भएपछि अर्को बिहे गरेको हुँ । मैले उनलाई मन्त्री बनाइदिनु भनेर कसैलाई भनेको छैन, भेटेको छैन । बरु यसबारे मिडियामा समाचार आएपछि गजेन्द्र हमाललाई मन्त्री नबनाइदिनुस् भनेर भनेको हुँ,’ प्रधानन्यायाधीश जबराको भनाइ उद्धृत गर्दै बारका एक सदस्यले भने।
प्रधानन्यायाधीश जबराकै दबाबमा प्रधानमन्त्री देउवाले बाँकेका नेता गजेन्द्र उद्योग तथा आपूर्ति मन्त्री नियुक्त गरेको चर्चा थियो । तर हमालले आफू पदभन्दा व्यवस्थाका लागि लडेको व्यक्ति भएको र यस्तो आशंकाकाबीच पदमा बसिरहन उपयुक्त नहुने भन्दै राजिनामा दिएका थिए।
अहिले खाली रहेको उद्योग मन्त्रालय प्रधानमन्त्री देउवाकै जिम्मामा रहेको छ ।
Leave a Reply