Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

डोटीमा पहिरोले राजमार्ग अवरुद्ध

डोटी । तीन दिनदेखिको अविरल वर्षाका कारण पहिरो आउँदा पहलमानसिंह स्वाँर राजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका सह–प्रवक्ता रवीन्द्र चन्दका अनुसार सिलगढी–साँफे सडकअन्र्तगत डोटीको उडितोलामा आज दिउँसो पहिरा आउँदा उक्त राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको हो ।

पहिराले अवरुद्ध राजमार्ग पुनः सञ्चालनका लागि नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोली परिचालन भए पनि वर्षा नरोकिएका कारण राजमार्ग खुलाउन नसकिएको प्रहरीले जनाएको छ । राजमार्ग अवरुद्ध भएपछि यहाँका पहाडी जिल्ला बाजुरा तथा अछामबाट तराई जानका लागि आएका दर्जनौँ सवारी साधन तथा यात्रुहरु अहिले बीचबाटोमै अलपत्र परेका छन् ।

यसैगरी डडेल्धुराको स्याउलेदेखि डोटीको दिपायल जोड्ने डा केआइसिंह राजमार्गका विभिन्न ठाउँमा पनि पहिरा जाँदा यातायात सेवा बन्द भएको छ । जिल्ला प्रहरी कार्यालयको प्रहरी सञ्चारका अनुसार उक्त राजमार्गको कालागाढ, रडुवा, अड्यौललगायतका ठाउँमा पहिरा आउनुका साथै सडकभरि ठुलठुला ढुङ्गा आएका कारण सडक खुलाउन सकिएको छैन् ।

अवरुद्ध भएको उक्त राजमार्गमा सडक डिभिजन कार्यालयको डोजर प्रयोग गरिए पनि पहिरा आउने र सडक तलबाट भासिने क्रम नरोकिएकाले सडक खुलाउन नसकिएको प्रहरीले जनाएको छ । वर्षा र बाढी पहिराले अहिलेसम्म दुई जनाको ज्यान गइसकेको छ भने ग्रामीण क्षेत्रका दर्जनौँ सडक अवरुद्ध भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077