काठमाडौैं । बाँकेकी नन्कुन्नी धोबीको मृत्यु र निर्मला कुर्मी बेपत्ता प्रकरणमा सरकार र आमरण अनसनरत रुबी खानबीच सहमति भएको छ । सहमतिपछि १२ दिनदेखि अनसनमा रहेकी रूबी खानले अनसन तोडेकी छन्। उनलाई महिला अधिकारकर्मी मोहना अन्सारीले जुस खुवाएकी थिइन्।
गृहमन्त्रालयका सहसचिव हिरालाल रेग्मीको नेतृत्वमा ६ सदस्यीय छानविन समिति गठन गर्ने सहमित भएसँगै अनसन स्थगित गर्न सहमत भएको हो ।
७ दिनभित्र प्रतिवेदन बुझाउने गरी बनेको छानविन समितिमा आन्दोलनकारीको तर्फबाट मुस्लिम समाज चेतना केन्द्रका अध्यक्ष मोहमद शेर बागवान पनि छन् । अनसनरत रुबीले बाँकेका एसपी श्यामकृष्ण अधिकारी लगायतलाई तत्काल सरुवा गर्नुपर्ने माग राखेकी थिइन् । गृहमन्त्रालयका अधिकारीहरुले भने दाषी देखिएकालाई कारबाही गर्ने र खानको मागप्रति सकारात्मक रहेको बताएका छन् ।
बाँकेका नन्कुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि ११ महिलासहित १४ जना २० दिन हिँडेर काठमाडौं आएका थिए । काठमाडौं आए लगत्तै प्रहरीले धरपकड गरेपछि रुबीले आमरण अनसन थालेकी थिइन् ।
उनीहरुले माइतीघरमा १२ दिनदेखि धर्ना दिइरहेका छन् भने आन्दोलनको नेतृत्व गरिरहेकी रुबी खान ११ दिनदेखि आमरण अनशनमा छिन् । सोमबार माइती नेपालको कार्यालयमा पुगेर गृह सचिव टेकनारायण पाण्डे र प्रवक्ता फणीन्द्रमणि पोखरेलले संघर्षरत अधिकारकर्मी र आफन्तसँग सोमबार छलफल गरेका थिए ।
नन्कुन्नीको घरेलु हिंसाकै कारण ज्यान गएकाले त्यसका दोषी ४ जनालाई पक्राउ गरी अनुसन्धान र कारबाहीको प्रक्रिया अघि नबढेसम्म आन्दोलन स्थगित गर्न नसकिने आन्दोलनरत पक्षको माग थियो । प्रहरीले अहिले नन्कुन्नीका श्रीमान् र जेठाजुलाई मात्र पक्राउ गरेको छ ।
त्यस्तै, निर्मला कुर्मीको अपहरण, शरीर बन्धक बनाई बेपत्ता पारिएको विषयका दोषीलाई समेत पक्राउ गरी कारबाही गर्नुपर्ने उनीहरूको माग छ ।
Leave a Reply