काठमाडौं । साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फर्किएको छ ।
आज विहान स्वदेश फर्किएका खेलाडीहरुलाई स्वागत गर्न युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज आफैं विमानस्थल पुगेका थिए भने विमानस्थलमा सयौंको संख्यामा प्रशंसकहरुको भीड लागेको थियो ।
नेपाली राष्ट्रिय खेलाडी र अफिसियलहरू बिहान सवा ९ बजे कतार एयरवेजमार्फत त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् ।
साफ च्याम्पियनसिपको उपविजेता नेपाली टोलीलाई विमानस्थलमा फुटबल प्रेमीहरुले भव्य स्वागत गरेका थिए ।
स्वागत गर्न विमानस्थल पुगेका मन्त्री गहतराजले साफमा नेपाली खेलाडीहरुले गरेको प्रदर्शनको प्रशंसा गरे । उनले प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले नेपाली फुटबलमा आशा र भरोसा जगाएको भन्दै आफ्नो मन्त्रालय र सरकारको तर्फबाट फुटबलको विकासका लागि सक्दो पहल गर्ने बताए ।
फुटबल टोलीको स्वागतमा नेपाली सेनाको ब्यान्डले मंगल धून बजाएको थियो । प्रशंसकहरूले प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको पक्षमा नारासमेत लगाएका थिए ।
माल्दिभ्समा भएको साफमा नेपाल पहिलो पटक फाइनलमा पुगेको थियो । तर फाइनलमा भारतसाग ३–० ले पराजित हुँदै उपविजेतामा सिमित भयो ।
Leave a Reply