Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

ओलीले गरे देउवा सरकारको कडा आलोचना, ‘अर्ली इलेक्सन’को सम्भावना रहेको दावी

झापा । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको आलोचना गर्दै तीन महिनामा बल्ल मन्त्रिमण्डलले पूर्णता पाएको बताएका छन् ।

दशैं, दीपावली, छठ र नेपाल सम्बतको अवसरमा आज झापाको बिर्तामोडमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा ओलीले भने, 'तीन महिनामा बल्लबल्ल मन्त्रिमण्डलले पूर्णता पाएको छ, सरकार कसरी चलिरहेको छ भन्ने प्रष्टै छ । अरु केके भएको छ, त्यो चाहिँ देखिन बाँकी छ ।'

प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका एमाले अध्यक्ष ओलीले ‘अर्ली इलेक्सन’को सम्भावनासमेत रहेको दावी गरे । आफुले नेतृत्व गरेको सरकारले विकास निर्माणमा आशालाग्दो काम गरेको चर्चा गर्दै उनले प्रदेश र स्थानीय तहको सरकारलाई अब धेरै अवधि बाँकी नरहेका कारण तीव्रगतिमा विकासका कार्यलाई अघि बढाउन आग्रह गरे।

जनताको जीवनमा देखिने गरी परिवर्तन ल्याउन लोकतन्त्र स्थापना गरिएको जनाउँदै अध्यक्ष ओलीले लोकतन्त्रको माला जपेर लोकतन्त्रकै विरुद्ध गतिविधि गर्नेको कुप्रचार र भ्रम निस्तेज बनाउन कार्यकर्ता पङ्क्तिलाई आह्वान गरे ।

उनले दशैं, तिहार, छठलगायतका चाडपर्वले समाजलाई एकता र सद्भावमा उन्नका लागि मालाको काम गरेको धारणा व्यक्त गरे । उनले लोकतन्त्रलाई व्यवहार र जीवनमा उतार्न सद्बुद्धि आवोस् भनी शुभकामनासमेत व्यक्त गरेका छन्।

विसं २०५० सालदेखि बडादसैँको महानवमीका दिन एमाले अध्यक्ष ओलीले गृहजिल्ला झापामा शुभकामना आदानप्रदान गर्दै आएका छन् ।

गत वर्ष कोभिड–१९ को कारण कार्यक्रम रोकिएको थियो । कार्यक्रममा प्रदेश नं १ का मुख्यमन्त्री भीम आचार्य, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री हिरा थापा, नेकपा एमालेका प्रदेश कमिटी सचिव विनोद ढकाल,सांसद् कोमल वलीलगायतले मन्तव्य व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077