काठमाडौं । आश्विन शुक्ल अष्टमीका दिन आज महाअष्टमी पर्व हिन्दू धर्मावलम्बीहरुले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजा आराधना गरी भव्यरूपमा मनाउँदैछन्। बडादशैंको आठौँ दिन आज महाअष्टमी, महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा भइरहेको छ ।
आज उपत्यका लगायत देशभरका शक्तिपीठहरुमा भक्तजनहरुको घुईंचो लागेको छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व छ । आजको दिन शास्त्रसम्मतरूपमा दसैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजा गरिन्छ । दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गरिन्छ ।
आज उपत्यकाका भद्रकाली, नक्साल भगवती, विजेश्वरील, जयबागेश्वरीलगायत उपत्यका बाहिरका काठमाडौंकै दक्षिणकाली, काभ्रेको पलाञ्चोक भगवती, गोरखाको मनकामना, चितवनको मौलाकालिका, बागलुङको बागलुङ कालिकालगतयत देवीका मन्दिरहरुमा आज भक्तजनहरुको घुईंचो लागेको छ ।
राष्ट्रपति भण्डारी पलाञ्चोक जाँदै
राष्ट्रपति विद्यादेवी भण्डारी शक्तिपीठमा पूजा गर्नका लागि आज काभ्रे जाँदैछिन् । राष्ट्रपति कार्यालय अनुसार पलाञ्चोक भगवतीमा पूजा गर्न उनी काभ्रे जान लागेकी हुन् ।
उनी हेलिकप्टर चढेर काभ्रे जान लागेको सुरक्षा स्रोतले जनाएको छ । राष्ट्रपतिको आगमनलाई मध्यनजर गरी जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
Leave a Reply