Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपालको सशस्त्र प्रहरी र भारतीय एसएसबीबीच सीमा सुरक्षा बैठक हुँदै, विवादित सीमाबारे छलफल नहुने

काठमाडौं । नेपालको सशस्त्र प्रहरी र भारतको सशस्त्र सीमा बल (एसएसबी)बीच सीमा सुरक्षा बैठक हुने भएको छ। नेपाल–भारतबीचको सीमा सुरक्षामा खटिने दुई सुरषा निकायको बैठक मंगलबार नयाँ दिल्लीमा हुनेछ।

बैठक एसएसबीको प्रधान कार्यालयमा बिहान ९ बजेदेखि शुरु हुनेछ। मंगलबारको बैठकका लागि सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल नेतृत्वको टोली दिल्ली पुगेको छ। दुई देशका सुरक्षा अधिकारीहरुले सीमा सुरक्षाका विषयमा छलफल तथा अन्तरक्रिया गर्न लागेका हुन्।

सीमा सुरक्षा बैठक एक वर्ष नेपालमा र अर्को वर्ष भारतमा गर्दै निरन्तर भइरहेको महानिरीक्षक खनालले जानकारी दिएका छन्। कोभिडका कारण गत वर्ष भारतमा हुने भनिएको बैठक रोकिएको थियो। नेपाल–भारतबीच खुला सीमाना छ।

त्यसकारण सीमावर्ती क्षेत्रमा बेलाबेला तनावपूर्ण स्थिति सिर्जना हुने गरेको छ। सीमा क्षेत्रमा सुरक्षाकर्मीको व्यवहारले समस्या उत्पन्न गराएको घटनाहरु पनि थुप्रै छन्। दुई महिना अगाडि दार्चुलामा तुइन तर्दै गरेका बेला एसएसबीका जवानले तुइन फुस्काइदिएका कारण नेपाली नागरिक महाकालीमा बेपत्ता भएका छन्।

त्यो घटनामा नेपाल सरकारले भारतलाई कूटनीतिक नोट नै पठाएको छ। सीमा क्षेत्रमा यस्ता समस्याहरु नआउन् भनेर बैठकमा छलफल हुनेछ।

बैठकमा नेपालका तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक खनाल तथा भारतको तर्फबाट एसएसबीका महानिर्देशक कुमार राजेश चन्द्रले नेतृत्व गर्नेछन्। नेपालबाट सशस्त्र अतिरिक्त महानिरीक्षक पुष्पराम केसी, महानिरीक्षक नारायण दत्त पौडेल र अन्य अधिकारीहरु सामेल हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077