काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौंमा पनि पोल प्रयोग गरेर भाडा नतिर्ने कम्पनीहरूको इन्टरनेटको तार काट्न शुरु गरेको छ । हिजो चितवनमा भाडा नतिर्ने इन्टरनेट र केबल टेलिभिजन सेवा प्रदायकहरूको लाइन काटिदिएको प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा पनि लाइन काट्ने अभियान शुरु गरेको हो ।
प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङको पहलमा अप्टिकल फाइबरलगायत संरचना प्रयोग गरेर भाडा तिर्ने सम्झौता गरेका इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले भाडा नतिरेका कारण तार काटिएका हुन् । तार काटिएपछि उनीहरुले उल्टै आन्दोलन शुरु गरेका छन् । ठगी गर्न पाउनुपर्ने माग राखेर आन्दोलन शुरु गरेका यस्ता कम्पनीहरुलाई नियम निकाय नेपाल दूरसञ्चार प्राधिकरणले नै संरक्षण दिएको छ ।
केवल माफिया र इन्टरनेट कम्पनीहरुले विद्युत प्राधिकरणको सम्पत्ति पोलको भाडा नतिरी प्रयोग गर्न पाउनुपर्ने माग राखेका छन् । तर, उनीहरुले ग्राहकसँग भने मनपरी रकम असुलीरहेका छन् ।
काठमाडौंमा आज नक्साल, पुतलीसडक, रत्नपार्क, कालोपुललगायतका स्थानहरुमा तार काटिएको प्राधिरणले जनाएको छ । शनिवार चितवनमा सांकेतिक रुपमा तार काटिएको जनाएको प्राधिकरणले भाडा नतिरे देशैभर तार काट्ने जानकारी गराएको थियो ।
तर, इन्टरनेट कम्पनीहरुले भाडा तिर्नुको सट्टा उल्टै आन्दोलन गर्न थालेपछि प्राधिकरणले देशभर नै तार काट्न निर्देशन दिएको छ । यद्यपी प्राधिकरणले अस्पताल र विद्यालय क्षेत्रमा भने तार नकाटेको जनाएको छ ।
तार काटिएपछि आज काठमाडौंका विभिन्न क्षेत्रमा इन्टरनेट अबरुद्ध भएको छ । प्राधिकरणले प्रत्येक पोलमा कुन कम्पनीको तार छ भन्ने ट्याग गर्नुपर्ने भएपनि कुनैपनि कम्पनीले आफ्नो ट्याग नराखेर मनपरी गरेको समेत जनाएको छ ।
प्राधिकरणले अप्टिकल फाइबरलगायत संरचना प्रयोग गर्ने कम्पनीहरुका लागि बक्यौता भाडा बुझाउन र सम्झौता नवीकरणका लागि शुक्रबारसम्म समय दिएको थियो । प्राधिरणले उपलब्ध गराएको समयसम्ममा पनि सेवा प्रदायकहरू सम्पर्कमै नआएपछि शनिबारबाट तार काटिएको प्राधिकरणले जनाएको छ ।
यता, नेपाल दूरसञ्चार प्राधिकरणले भने इन्टरनेट सेवाको निर्वाध उपयोग गर्ने÷गराउने व्यवस्था मिलाउन अनुरोध गरेको छ ।दूर सञ्चार प्राधिकरणले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘अप्टिकल फाइबर काट्दा राज्यको अति आवश्यक सेवा अवरुद्ध पारिएको छ दूरसञ्चार ऐन २०५३ अनुसार कसैले पनि यस्तो सेवा अवरुद्ध गरेमा दण्डनीय हुने व्यवस्था छ, यसरी दूरसञ्चार सेवा अवरुद्ध गर्ने कार्यप्रति प्राधिकरण दुखः व्यक्त गर्दछ ।’
Leave a Reply