चितवन । नेपाल विद्युत् प्राधिकरणको पोल प्रयोग गरेर भाडा नतिर्ने कम्पनीहरूको इन्टरनेटको तार काट्न शुरु गरेको छ । आज चितवनमा भाडा नतिर्ने इन्टरनेट, टेलिफोन र केबल टेलिभिजन सेवा प्रदायकहरूको लाइन काटिएको नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रेले जनाएको छ ।
अप्टिकल फाइबरलगायत संरचना प्रयोग गरेर भाडा तिर्ने सम्झौता गरेका इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले उल्टै आन्दोलन गर्नेसम्मको धम्की दिइरहेका बेला प्राधिकरणले लाइन काट्ने निर्णय गरेको हो ।
शनिवार भरतपुरको बसेनी क्षेत्र (बसेनी सबस्टेशन अगाडि), विद्युत प्राधिकरण अगाडि र सडक डिभिजन कार्यालय अगाडि इन्टरनेटको तार सांकेतिक रुपमा काटिएको नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले जनाएको छ ।
यद्यपी प्राधिकरणले अस्पताल र विद्यालय क्षेत्रमा भने तार नकाटेको जनाएको छ । तार काटिएपछि आज चितवनका विभिन्न क्षेत्रमा इन्टरनेट अबरुद्ध भएको छ । प्राधिकरणले प्रत्येक पोलमा कुन कम्पनीको तार छ भन्ने ट्याग गर्नुपर्ने भएपनि कुनैपनि कम्पनीले आफ्नो ट्याग नराखेर मनपरी गरेको समेत जनाएको छ । आज प्राधिकरणले हरेक इन्टरनेट सेवा प्रदायकको एक–एकवटा प्वाइन्टमा सांकेतिक रूपमा तार काटेको हो ।
सांकेतिक रुपमा गरिएको कारवाहीपछि पनि अटेर गरे हप्ता÷दश दिनपछि झन् कडाइका साथ प्रस्तुत हुने प्राधिकरणले जनाएको छ । भरतपुर वितरणकेन्द्रबाट इन्टरनेट प्रदायक कम्पनीको १ करोड बढिको सामान जफत र पैसा नतिरेसम्म सामान फिर्ता नगरिने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले अप्टिकल फाइबरलगायत संरचना प्रयोग गर्ने कम्पनीहरुका लागि बक्यौता भाडा बुझाउन र सम्झौता नवीकरणका लागि शुक्रबारसम्म समय दिएको थियो । प्राधिरणले उपलब्ध गराएको समयसम्ममा पनि सेवा प्रदायकहरू सम्पर्कमै नआएपछि शनिबारबाट तार काटिएको प्राधिकरणले जनाएको छ ।
इन्टरनेट सेवाप्रदायक संघ नेपालका अध्यक्ष सुधीर पराजुली भने चितवनमा मात्र नभएर ताप्लेजुङ, धनगढी, बुटवललगायतका अन्य स्थानमा समेत इन्टरनेटको तार काटिएको बताउँछन् । ‘चितवनमा चाहिँ प्राधिकरणको ओपीजीडब्लू बाट निस्किएकै ठाउँमा तार काटिएको छ,’ उनले भने,‘जसले गर्दा चितवन पुरै ब्ल्याकआउट नै भएको छ । प्राधिकरणले यस किसिमको दम्भ नरोकेसम्म हामी अवरुद्ध इन्टरनेट सेवा सुचारु गर्न सक्ने अवस्थामा छैनौँ ।’
Leave a Reply