काठमाडौं । स्यानिटरी प्याडमा कर नलिन माग गर्दै राजधानीमा प्रदर्शन भएको छ । महिनावारीको समयमा प्रयोग हुने सेनेटरी प्याडको मूल्य अचाक्ली बढेपछि प्रदर्शन भएको हो । सेनेटरी प्याडको मूल्य बढेसँगै महिनावारी उमेर समूहका महिला तथा किशोरीहरु मारमा परेका छन्।
खुद्रा व्यापारीहरुले सरकारले कर बढाएको आरोप लगाउँदै १० रुपैयाँसम्म मूल्य वृद्धि गरेका छन्। मूल्यवृद्धि भएसँगै किशोरी एवम् अभियन्ताहरुले प्याडमा कर लगाउन नहुने भन्दै आन्दोलनसमेत थालेका छन्।
सेनिटरी प्याड लगायतका उत्पादनहरू आधारभूत स्वास्थ्य सुविधा अन्तर्गत राखेर कर छुट गर्न देशका विभिन्न स्थानमा शुक्रबार प्रदर्शन भएका हुन्।
आफ्ना मागहरू सम्बोधन गर्न सरकार उदासीन देखिएको भन्दै अभियानकर्मीहरूले थप आन्दोलित हुने चेतावनी समेत दिएका छन्। सरकारी अधिकारीले भने मागहरू जायज ठहर भएमा आगामी बजेटबाट करको दरमा संशोधन गर्न सकिने बताएका छन्।
माइतीघर मण्डलामा भएको प्रदर्शनमा सहभागीहरुले ‘रातो घर, माफ गर’, ‘स्यानिटरी प्याड विलासिता होइन, आवश्यकता हो’, ‘सरकार महिनावारीमा कर कहिलेसम्म ?’ जस्ता नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।
‘हमार बहल लाजके लाल (के शोषण) खुन से रंगल तोहर कमाई ? अथवा रातो रगतलाई शोषणको रुपमा लिइन्छ । मेरो रगतले रंगिएको छ तिम्रो कमाई भन्दै मिथिला आर्टसहितको प्लेकार्ड बोकेका युवतीहरु पनि माइतीघर मण्डलाको सडकमा थिए ।
महिनावारी सामग्रीमाथि लगाउँदैआएको कर र भ्याटविरुद्ध शुक्रबार युथ कांग्रेस नेपालले अयोजना गरेको आन्दोलनमा अभियन्ता तथा विद्यार्थीहरुको एउटै स्वर थियो –‘रातो कर खारेज गर’ ।
आन्दोलनमा सहभागिता जनाउन साउन २६ गते सर्वोच्च अदालतमा रिट हालेका कानूनका विद्यार्थी अभ्युदय भेटवाल र श्रीना नेपाल पनि आएका थिए ।
बजारमा सेनिटरी प्याडमा मूल्यवृद्धि भएपछि अहिले यसको विरोध भइरहेको छ । त्यसमाथि महिनावारी सामग्रीमा १३ प्रतिशत कर र १५ प्रतिशत भन्सार कर सरकारले लगाइराख्दा महिनावारी हुने धेरै व्यक्ति मर्यादित महिनावारी र सुरक्षित प्रजनन स्वास्थ्यको मौलिक हकबाट बञ्चित भई ज्यान गुमाउन बाध्य भएका छन् । महिनावारीमा उपभोग गर्ने कुनै पनि सामग्रीबाट लिने गरेको विलासिताको कर खारेज गर्न सबै अभियान्ताको माग छ ।
Leave a Reply