Online Nepal
  • बुधबार, २ माघ २०८१
  • स्कुले बालिकाहरूलाई नग्न तस्बिर पठाउन दबाव, यौन दुर्व्यवहारका घटनाहरूबारे अनुसन्धान शुरू

    स्कुले बालिकाहरूलाई नग्न तस्बिर पठाउन दबाव, यौन दुर्व्यवहारका घटनाहरूबारे अनुसन्धान शुरू

    अनलाइन नेपाल
  • बिहिबार, १४ असोज २०७८
  • 1.6K
    SHARES

    एजेन्सी । एउटा अनलाइन सचेतना अभियानमा ९० भन्दा बढी विद्यालयको नाम आएपछि यूकेको वेल्स राज्यका विद्यालयमा सहपाठीहरूमाझ भएको भनिएको यौन दुर्व्यवहारका घटनाहरूबारे अनुसन्धान शुरू भएको छ।

    कक्षाकोठामा आफ्ना सहपाठीहरूले गर्ने यौन दुर्व्यवहारका घटनाहरूबारे नाम उल्लेख नगरीकन उजुरी गर्न छात्रछात्राहरूलाई सहयोग पुगोस् भनेर एउटा वेबसाइट ‘एभ्रिवान्ज इन्भाइटेड’ सञ्चालन गरिएको छ।



    नोर्थ वेल्स प्रहरीले उक्त वेबसाइटमा प्राप्त उजुरी र बयानसँग सम्बन्धित दुईवटा घटनामा अनुसन्धान अघि बढाइएको बताएको छ।

    बीबीसी वेल्सलाई बताइएअनुसार ११ वर्ष उमेरसम्मका छात्राहरूलाई नग्न फोटो पठाउन भनेर छात्र सहपाठीहरूले दबाव दिने वा तिनीहरूलाई अश्लील तस्बिरहरू पठाउने घटना लगभग सामान्यजस्तै बनिसकेका छन्। वेल्श सरकारले बालबालिकाहरूको सुरक्षा आफूहरूको प्राथमिकतामा रहेको जनाएको छ।

    शिक्षासम्बन्धी निगरानी समूह एस्टिनका विद्यालय सुपरिवेक्षकहरूले ‘विद्यार्थी–विद्यार्थीबीच हुने यौन दुर्व्यवहारका घटना’बारे अनुसन्धान गर्न आफूहरूले कक्षाकोठामा प्रवेश गरेर काम अघि बढाउन लागेको जनाएका छन्। अघिल्लो शैक्षिक सत्रमा इङ्गल्यान्डमा गरिएको अध्ययनका सिलसिलामा पनि विद्यार्थीहरूमाझ हुने यौन दुर्व्यवहारका गतिविधि उनीहरूमाझ ‘सामान्य घटना’ जस्तै भइसकेको पत्ता लागेको थियो।

    ‘एभ्रिवान्ज इन्भाइटेड’ वेबसाइटमा नाम परेको ब्याङ्गर ग्विनेथस्थित एक विद्यालय अस्गोल फ्राइअर्सका प्रमुख, हेड टिचर नील फोडेन भन्छन् कि यदि विद्यालयका हेड टिचरहरू सहपाठीहरूमाझ हुने यौन दुर्व्यवहारका घटनालाई समस्याका रूपमा लिँदैनन् भने तिनीहरू ‘आफैलाई भ्रममा राख्दैछन् ।’

    उनी भन्छन् ‘एभ्रिवान्ज इन्भाइटेड’ मा लेखिएका उजुरीका घटनाहरूले धेरैलाई त्रसित तुल्याएको हुनुपर्छ तर ती घटना विवरण प्रायः जसो शिक्षकहरूका लागि नौलो जानकारी नहुन सक्छ।

    विद्यालयहरूसँग सामुदायिक अधिकारीका रूपमा मिलेर काम गर्ने नोर्थ वेल्स प्रहरी बलका पुलिस कन्स्टेबल डिलन प्रिचार्ड भन्छन् कि स्कूले विद्यार्थीहरूमाझ सामाजिक सञ्जाल र अश्लिल तस्बिरहरूको बिगबिगीको विस्तारले ठूलो समस्याको रूप लिएको छ।

    उनी भन्छन्, ‘मलाई लाग्छ यो झन्–झन् खराब हुँदै गइरहेको छ। तर यस्ता घटनाका बारे अहिले आएर धेरै जानकारी पाइने गरेकाले वा साना बालबालिकाहरूलाई यस्ता घटनाका बारे नडराईकन बोल्ने वा उजुरी गर्न सक्ने बनाउन सकिएका कारणले गर्दा यस्ता विवरणहरू धेरै प्राप्त हुन थालेको हुनसक्छ।’

    यूकेमा बालबालिकाको सुरक्षाको क्षेत्रमा काम गर्ने एक परोपकारी संस्था एनएसपीसीसीले प्राप्त गरेको तथ्याङ्क अनुसार वेल्समा मात्रै सन् २०२० को एप्रिल र सन् २०२१ को मार्च महिनाका बीचमा बालबालिकाहरूसँग यौनसम्बन्धी सञ्चार सम्पर्क गरिएका ३०० भन्दा बढी घटनाहरू भएका थिए।

    त्यस्ता घटनामा बालबालिकाहरूलाई तिनका नग्न तस्बिर पठाउन भनिएको गतिविधि पनि पर्दछन्। वेल्सको शिक्षा मन्त्रालयका मन्त्री जेरमी माइल्सले वेल्सका सबै विद्यालयहरूलाई पत्र लेखेर ‘यस्तो (दुर्व्यवहारको) अवस्थामा परेका सबै विद्यार्थीलाई आवश्यक सहयोग गर्नका लागि प्रणालीगत व्यवस्था भएको यकिन गर्न’ निर्देशन दिएका छन्। –बीबीसी

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार