विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले उर्लाबारी–८ राजघाटका १९ वर्षीय अभिषेक चौधरी हत्या प्रकरणका मुख्य दुई अभियुक्तलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा उर्लाबारी–७ का २७ वर्षीय अभिषेक लिम्बू र उर्लाबारी–८ का २८ वर्षीय विजय लिम्बू रहेका छन् । उनीहरुलाई आइतबार जिल्ला अदालत मोरङमा पेस गरेको प्रहरीले जनाएको छ।
मोरङ प्रहरीका चौधरीको हत्यामा लिम्बूद्धयको योजना र प्रत्यक्ष संलग्नतामा रहेक अनुसन्धानको क्रममा खुल्न आएको हो । गत साउन ११ गते स्थानीय भुरन चौधरीको घरमा बसिरहेका बेला १५ जनाको संख्यामा आएको समूहले चौधरी र उनीसँगै रहेका २१ वर्षीय सुशन धामीमाथि छुरा हानेको थियो ।
छुरा प्रहारबाट गम्भीर घाइते भएका चौधरीको त्यही दिन झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पताल पुर्याउनेवित्तिकै मृत्यु भएको थियो । सुशन उपचारपछि निको भएका छन् ।
घटनामा संलग्नमध्ये उर्लाबारी–८ का २२ वर्षीय राकेश कार्की, १९ वर्षीय पवन भनिने हेमराज कार्की, २१ वर्षीय योगेश विक, १९ वर्षीय निशान राई, उर्लाबारी–७ का २० वर्षीय अञ्जन लिम्बू, उर्लाबारी–१० का २० वर्षीय आयुष राना मगर यसअघि नै पक्राउ परिसकेका थिए ।
हत्यामा संलग्नमध्ये अहिलेसम्म ८ जना पक्राउ परिसकेको मोरङ प्रहरीले जनाएको छ।
Leave a Reply