एजेन्सी । अफगानिस्तानमा तालिबानले शासन शुरु गरिसकेको छ। अन्तरिम सरकारको घोषणा गर्दै तालिबानले आफ्नो शासन शुरु गरेको हो।
यो समूहको शासनव्यवस्था कठोर हुन्छ। विशेषगरी तालिबानले महिलामाथि निकै दमन गर्ने किसिमको शासन चलाउँछ। कडा र कठोर शासन चलाउने यो समूहले यसपटक भने त्यस्तो नगर्ने अपेक्षा गरिएको थियो।
तर यसका संस्थापकमध्येका एक मुल्लाह नोरुद्दिन तुराबीले कडा इस्लामिक कानून लागू हुने बताएका छन्। उनले अपराधीको हातखुट्टा काट्ने सजाय फेरि लागू गर्नुपर्ने बताएका हुन्।
‘सुरक्षाका लागि हात काट्नु निकै जरुरी छ,’ एशोसिएट प्रेससँगको कुराकानीमा तुराबीले भने। यद्यपि, सार्वजनिकस्थलमा यस्तो सजाय दिने वा नदिने भन्नेबारे मन्त्रिपरिषद्ले निर्णय लिने बताइएको छ।
दुई दशकअघि तालिबानको शासन हुँदा तुराबीले नै कानून मन्त्रालय हेर्थे। त्यतिबेला अफगानिस्तानमा अपराधीहरूलाई रंगशालामा गोली हानेर मार्ने गरिएको थियो, पीडितका परिवारले उनीहरुलाई सार्वजनिकस्थलमा टाउको गोली हान्थेँ।
क्षतिपूर्ति रकम लिएर अपराधीलाई माफी दिन पाउने अधिकार पनि पीडितसँग थियो। त्यसैगरी चोरीको अभियोग लागेकाहरूको हात काट्ने गरिन्थ्यो। त्यसैगरी हाइवेमा लुट्नेहरूको हात र खुट्टा काटिन्थ्यो।
तुराबीले काबुलको नयाँ सत्तामा हस्तक्षेप नगर्न अन्तर्राष्ट्रिय समुदायलाई चेतावनी पनि दिएका छन्। ‘रंगशालामा दिइएको सजायका लागि धेरैले हाम्रो आलोचना गरे । तर, हामीले उनीहरुका कानून र सजायबारे कहिल्यै केही भनेनौँ’ तुराबीले एशोसिएट प्रेससँगको अन्तर्वार्तामा भनेका छन्, ‘हाम्रो कानून कस्तो हुनुपर्छ भनेर कसैले भन्ने होइन। हामी इस्लामको पालना गर्छौ र कुरानअनुसार कानून बनाउँछौं।’
१९९६ देखि २००१ सम्म तालिबानी शासन अति कठोर थियो। पुरुषहरूले अनिवार्य दाह्री पाल्नुपर्ने, महिलाहरुले बुर्का लगाउनुपर्ने, संगीतमाथि प्रतिबन्धलगायत कडा नियमहरु बनाइएका थिए। महिलाहरुले तालिबानविरुद्ध प्रदर्शन गरिरहेका छन्। विश्व समुदायले पनि तालिबानलाई मानव अधिकारको विषयमा गम्भीर हुन भनिरहेको छ।
Leave a Reply