Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • नेतागण, देशले के पायो ? हामी नागरिकले के पायौं ?

    नेतागण, देशले के पायो ? हामी नागरिकले के पायौं ?

    अनलाइन नेपाल
  • आइतबार, ३ असोज २०७८
  • 4.3K
    SHARES

    राधा पोखरेल / चौध वर्ष भयो देशमा गणतन्त्र आएको । आज ६ वर्ष पूरा भएको छ संविधानसभाबाट संविधान घोषणा भएको । तर, नेतागण, देशले के पायो ? हामी नागरिकले के पायौं ?
    सरकार बन्ने–भत्कनेको त कुरै नगरौं । यसबीचमा प्राय:तपाईंहरू सबैको राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री बन्ने धोको पूरा भएको हुनुपर्छ । किनकि, सरकार बनाउन र भत्काउन सायद संसारकै च्याम्पियन हुनुहुन्छ तपाईहरू ।
    नेतागण ! तपाईहरूको भर्यांग अब कति वर्ष बन्नुपर्छ हामीले ? अनि तपाईहरूको दासत्वबाट कहिले अमलेख हुन्छौं हामी ?
    तपाईंहरूको कुन आदेश मानेनौं हामीले ? राणा विरूद्ध लड्न बोलाउनुभयो । राणाशाही अन्त्य नहुन्जेल लड्यौं । पञ्चायतविरूद्ध लड्न बोलाउनु भयो । पञ्चायत नढलुन्जेल लड्यौं । जनयुद्ध लड्ने आदेश दिनुभयो । जनयुद्ध पनि लड्यौं । कृपया भनिदिनुस् नेतागण, हामीले तपाईंहरूको कुन आदेश मानेनौं ? हामीले तपाईहरूमाथि के अन्याय गर्यौं ? के अपराध गर्यौं ? के पाप गर्यौं ? जसको सजायँ हामी जनतालाई यति निर्ममतापूर्वक दिइरहनु भएको छ ?
    यी सबै युद्ध र आन्दोलनहरूमा गरेर हजारौं हजार मानिसहरूको ज्यान गएको छ । लाखौं लाखको अंगभंग भएको छ । नानीहरू टुहुरा भएका छन्,आमाहरूको काख रित्तिएको छ, चेलीहरूको सिन्दुर पुछिएको छ । घरबार बिहीन भई बिस्थापित हुनेहरूको त कुरै नगरौं । तर पनि समयसँगै सबैले आफूलाई सम्हाल्दै आएका छन् । किनकि, यी सबै देशको लागि थियो; परिबर्तनका लागि थियो ।
    कर्णालीको नागरिकले सुन मागेको छैन नेतागण ! अहिले पनि केवल नुन माँगिरहेको छ । मधेसका मुसहर,चमारहरूले दरबार मागेका छैनन् सरकार ! अहिले पनि केवल घरबार मागिरहेका छन् ।
    दलितहरूले मान्छे हुनुको अधिकार मागिरहेका छन् । युवाहरूले आफ्नै देशमा स्वरोजगार/रोजगार मागिरहेका छन् । महिलाले सुरक्षा खोजिरहेका छन् । हो नेतागण ! हो सरकार !! हामी नागरिकले न्याय, सुरक्षा, शान्ति र समृद्धि खोजिरहेका छौं । के यो हाम्रो अपराध हो ?
    बुद्धभन्दा चर्को स्वरमा शान्ति शान्ति शान्ति भन्नुहुन्छ। तर हिंसा, आगजनी गर्न कार्यकर्ताहरूलाई प्रतिस्पर्धा गर्न लगाउनु हुन्छ । खोई कसरी विश्वास गर्ने तपाईंहरूलाई हामीले ?
    बिडम्बना, ५० लाख युवाहरू आज पनि विदेशमा रगत-पसिना बगाइरहेका छन् । प्रत्येक दिन ५-७ वटा शव कफिन बक्समा पोको पारेर नेपाल भित्रिरहेको छ । कहिले रोकिन्छ नेतागण, नेपाली नारीको सिउँदो पखालिने यो क्रम ? अनि कहिले तोडिन्छ बिदेशमा युवाहरू बेचेर प्राप्त विप्रेषणबाट धनी भएको भ्रम ?
    समृद्धि जति आफ्नो भागमा पस्केर हामी जनतालाई गरिबी बाँड्नु भो ! कसरी बाँच्ने हामी गरिब जनता ? बोरामा पैसा बोकेर जाँदा झोला भरी सामान नआउने भइसक्यो । बजारमा श्रम बिक्नै छाडिसक्यो । के गर्नु नेतागण, हजुरहरूको मीठो भाषणले हामी नागरिकको रित्तो भाँडोमा रासन नभरिँदो रहेछ ।नेतागण !
    शिखरमा हुनेहरू सधैँ जोखिममा हुन्छन् । शिखर ब्यक्तित्वहरू ब्यक्ति भएर पनि केवल एउटा ब्यक्ति मात्र हुँदैनन् संस्था हुन्छन् । सार्वजनिक पद धारण गरेका व्यक्तिहरू निकै अनुशासित र आदर्शवान हुनु पर्छ । सिक्ने भनेको ठूलाबाट नै हो । सकारात्मक सोंच र कुशल नेतृत्वले यो देश बन्ने जति सम्भावना छ, नकारात्मक सोच र दुर्बल नेतृत्वले बिग्रने खतरा पनि त्यतिकै छ । सम्हालिनुस् । यो आफूले आफैँलाई सम्हाल्ने समय हो ।
    बदलाभावले परिवार,समाज,देश कहिँ पनि शान्ति ल्याउँदैन । बदलाभावको अनिबार्य परिणती हत्या, हिंसा र द्वन्द नै हो । के हामी फेरि अर्को द्वन्द चाहन्छौं ? पक्कै चाहँदैनौं । हामी चाहन्छौं, एकता, शान्ति र समृद्धि । (लेखक पोखरेल नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष हुनुहुन्छ)

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार