काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले लाखौं रकम ठगी गरेको आरोपमा ‘पिपुल्स भोलेन्टियर’ काठमाडौंका जिल्ला संयोजकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पूर्वी रुकुमको सिस्ने गाउँपालिका– ५ घर भई हाल काठमाडौं महानगरपालिका–१५ बस्ने ३० बर्षीय अर्जुन बुढाथोकी रहेका छन्।
माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा आबद्ध बुढाथोकीलाई परिसरको टोलीले काठमाडौँस्थित धापासीबाट पक्राउ गरेको हो।
परिसरका प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार पक्राउ परेका बुढाथोकीलाई १८ फागुन २०७७ मा उच्च अदालत पाटनबाट ४ दिन कैद सजाय र १३ लाख ८४ हजार जरिवानाको फैसला सुनाईएको थियो।
अदालतको उक्त फैसलापछि फरार रहेका बुढाथोकीले पीडीतहरुलाई आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएपछि झुक्याएर रकम नभएको चेक दिने गरेको प्रहरी अनुसन्धानमा खुल्न आएको एसएसपी सिंहले बताए।
यस्तै, काठमाडौंको दरबारस्थित रोयल क्यासिनोको फ्लस टेबलमा लगानी गरी व्यवसाय गर्दै आएका बुढाथोकीले विभिन्न व्यक्तिबाट ८६ लाख २० हजार रुपैयाँ ठगी गरेको स्रोतको भनाइ छ।
पक्राउ परेका बुढाथोकीलाई बैंकिङ्क कसूर तथा सजाय ऐन २०६४ बमोजिमको कसूरमा सजाय माग गर्दै ललितपुर जिल्ला अदालतमा पेश गरिएको एसएपी सिंहले बताए।
Leave a Reply