रामनारायण यादव/ सप्तरी । सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले सप्तरी ऐतिहासिक ठाउँ भएको तर यहाँको बाटोघाटोको अवस्था हेरेर चित्त दुखेको बताएका छन्।
राजविराजमा बिहीबार सप्तरीका सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘ऐतिहासिक ठाउँको अवस्था यस्तो छ भने मैले सोचको पनि थिइँन।’ सप्तरीका राजविराजको अवस्था यस्तो छ भने जिल्लामा रहका १८ वटै स्थानीय निकायको अवस्था कस्तो होला भन्ने चिन्ता प्रजिअ गौतमले व्यक्त गरेका छन्।
सडकसँगै जिल्लामा भईरहेका विकास निर्माणका कार्यहरु सुस्त गतिमा भईरहेको भन्दै उनले तोकिएको समयमा निर्माण कार्य सम्पन्न गर्ने सम्बन्धित निकायहरुलाई निर्देशन दिने बताए।
जिल्लालाई सुव्यवस्थित गर्नका लागि स्थानी सरकारका प्रमुख, राजनितिक दल, नागरिक समाज, सञ्चारकर्मी सबैसँग समन्वय गरेर अघि बढ्ने उनको भनाइ छ। सप्तरीका सरकारी कार्यालयहरुमा रहेका सूचना अधिकारीहरुलाई सहज रुपमा जनतालाई दिनुपर्ने सूचना उपलब्ध गराउने पनि उनले निर्देशन दिए।
सप्तरीमा खुल्ला सिमा नाका भएका कारण लागूऔषधको ओसार पोसार बढी भइरहेको प्रति सुरक्षा निकायलाई गम्भीर हुन र रोकथामका लागि सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने प्रजिअ गौतमले बताए।
जिल्लाको वस्तुस्थितको बारेमा नेपाल पत्रकार महासंघ शाखा सप्तरीका अध्यक्ष श्रवणकुमार देवले जिल्लामा देखिएका समस्याहरुको बारेमा जानकारी गराएका थिए।
Leave a Reply