काठमाडौं । नेकपा एमाले जुम्लाका ६१ जना जिल्ला सदस्यमध्ये अध्यक्षसहित ५८ जना माधवकुमार नेपालको पार्टी नेकपा (एकीकृत समाजवादी) मा लागेका छन् । शनिबार पत्रकार सम्मेलन गरी उनीहरूले एकीकृत समाजवादीमा लागेको घोषणा गरेका हुन् ।
एमालेका जुम्ला अध्यक्ष तीर्थ बुढा, उपाध्यक्ष नन्दराम रोकाया, सचिव आदीप्रसाद न्यौपाने, उपसचिव राजबहादुर खत्री सहितका अन्य जिल्ला सदस्यहरूले एकीकृत समाजवादीमा गएको पत्रकार सम्मेलनमै जानकारी गराएका हुन् ।
पत्रकार सम्मेलनमा कर्णाली प्रदेशसभा सांसद पदमबहादुर रोकायाले एमालेका अध्यक्ष केपी शर्मा ओलीको दम्भ र माधव नेपाललाई गरिएको तिरस्कारले आफूहरु एकीकृत समाजवादीमा लाग्न बाध्य भएको बताए ।
एमाले जुम्लाका उपाध्यक्ष नन्दराम रोकायाको अध्यक्षतामा गरिएको पत्रकार सम्मेलनमा सहभागीले आफूहरु एमाले छाडेर एकीकृत समाजवादीमा लागेको घोषणा गरेका हुन् ।
पत्रकार सम्मेलनमा अध्यक्ष तीर्थबहादुर बुढा उपचारको क्रममा काठमाडौंमा रहेको जनकारी गराउँदै उपाध्यक्ष रोकायाले एकीकृत समाजवादीमा उहाँ (अध्यक्ष)को पूर्ण समर्थन रहेको जानकारी गराए ।