एजेन्सी – अफगानिस्तानमा विद्रोही समूह तालिबानले आफ्नो शासन शुरु गरिसकेको छ। अमेरिकी सेना फिर्ता भएको केही समयमै काबुल कब्जा गरेपछि तालिबान र अफगानिस्तान निरन्तर सञ्चामाधयममा छाइरहेका छन्।
टिप्पणीकारहरुले स्वभाविकरुपमा सांकेतिक अर्थहरु दिएर यसलाई ‘साम्राज्यवादीहरुको चिहान’ भन्न थालेका छन्। जस्तो कि, अन्य ठाउँजस्तो अफगानिस्तानमा विदेशी शक्तिहरु कहिल्यै पूर्ण विजयी हुन सकेनन् र उनीहरुले अनन्तकालसम्म शासन चलाउन सकेनन्।
सभ्य समाजलाई चक्रव्यूहमा पार्न अफगानीहरु सिपालु छन् ? के यो चक्रब्यूह केवल पश्चिमा शक्ति वा ‘महान् दैन्त्य’हरुका लागिमात्रै हो ? के आफूलाई प्राप्त भएको लाभ जोगाउनका लागि लड्ने मामिलामा अफगानीहरु कमजोर वा अनुभवविहीन छन् ? यी र यस्ता प्रश्न पनि छाइरहेकै छन्।
तर, पश्चिमा न्यारेटिभहरु अफगानी र उनीहरुका सम्भावित असफलताबारे केन्द्रित भइरहँदा अफगानिस्तानमा घटिरहेका घटनाले अमेरिकाबारे के भन्छ भन्ने विषय कमैले मात्रै उठाएका छन्। कमजोर हुँदै गएको महाशक्ति र वैश्विक मामिलाको निर्णय लिने क्रममा देखिएको उसको बढ्दो अक्षमताबारे कमैले चर्चा गरेका छन्।
तालिबानको कब्जामा काबुल पुगेको नियालिरहँदा मैले पूर्वअमेरिकी विदेशमन्त्री हेनरी किस्सिन्गरको टिप्पणी याद आउँछ – अमेरिकाको शत्रु हुनु खतरनाक हुनसक्छ, तर साथी हुनु घातक छ।’
विश्वकै धनी र शक्तिशाली सेना रहेको देशले अफगानिस्तानमा २ ट्रिलियनभन्दा धेरै डलर खर्च ग¥यो। २००१ यता ७ लाख ७५ हजारभन्दा धेरै सैनिकहरु खटायो। दुई दशकसम्म अफगानी सैनिकहरुलाई प्रशिक्षण र तालिम थियो। देशमा पुननिर्माणको काम अघि बढायो।
जब उसले सेना हटाउन सुरु ग¥यो, तब एकै साताभित्र अफगानी सहयोगीहरुले आत्मसमर्पण गर्न थाले। अफगानिस्तानले अमेरिकी शताब्दीको अन्त्यको झल्को दिँदैछ वा यो उसको विश्वव्यापी प्रभूत्वमा एउटा सानो झट्का मात्र हो ?
यस्तै अन्य क्षणहरु पनि इतिहासमा छन्, जहाँ अमेरिकाले कमजोरी देखाएको थियो। १९४१ मा पर्ल हार्बरमा जापानले आक्रमण गरेर अमेरिकाको प्यासेफिक बेडालाई ध्वस्त गरेको थियो। यसपछि जापानी विस्तारवादीहरुले फिलिपिन्स कब्जामा लिए।
तर, यसपछि अमेरिकाले आफ्नो जेलसेनालाई सुदृढ भयो र तीन वर्षभित्र जापानलाई घुँडामा टेकायो। १९७३ मा यस्तै अर्को क्षण आयो। यतिबेला सोभियत युनियनको सहयोग पाएका इजिप्ट र सिरियाली दस्ताले ईजरायलको कब्जामा रहेका भूभागमा आश्चर्यजनक रुपमा आक्रमण गर्न थाले। जब अमेरिकाले आफ्नो सहयोगीलाई साथ दिन थाल्यो। तब, अरबका तेल उत्पादकहरुले तेलमा निर्यात ठप्प गरेर प्रतिक्रिया देखाए, अमेरिकी अर्थतन्त्र नराम्ररी बिग्रियो।
तर १० वर्षपछि उसले मध्यपूर्वमा सोभियतको प्रभावलाई न्युनिकरण ग¥यो र अमेरिकालाई अरब राष्ट्रवादीहरूको ब्लकबाट अलग गराइदियो। अमेरिका कमजोर भएको घोषणा गर्नु सायद निकै हतारो हुनेछ। तर, पछिल्ला दुई दशकमा विश्व भूराजनीतिमा महत्वपूर्ण उतार–चढाव देखिएको छ।
भारतीय मुलका अमेरिकी राजनीतिक विश्लेषक फरेद जाकारियाले २००८ मा प्रकाशित पुस्तक ‘पोस्ट अमेरिकन वल्र्ड’ मा लेखका छन् : नयाँ शक्तिहरुले आफ्नो स्वार्थलाई बलियो ढंगले उजागर गरेको तथ्य नै अमेरिकापछिको विश्वको यथार्थ हो।’
फर्किएर हेर्दा विश्वजगत्मा अमेरिकाको उपस्थिति आफैंमा नाटकीय छ। १९१३ सम्म उसले आफूलाई प्रमुख आर्थिक शक्तिका रुपमा स्थापित गरेको थियो। जबकि, उसलाई वैश्विक मामिलामा थोरैमात्र चासो थियो।
प्रथम विश्वयुद्धमा मित्र शक्तिको पक्षधरता लिएर हस्तक्षेप गरेपछि यो परिवर्तन हुनेवाला थियो, यतिबेला मित्र शक्तिले जित्यो। महाशक्तिका रुपमा बेलायतलाई विस्थापित गरेर विश्वका धेरै ठाउँमा अमेरिका छाउँछ भन्ने दोस्रो विश्वयुद्धको अन्त्य (१९३९–४५) सँगै स्पष्ट थियो। र, यसको ५० वर्ष नपुग्दै ईस्टर्न ब्लक र सोभियत युनियन ध्वस्त भए, अमेरिका विजयी बन्यो।
जब अमेरिकाले विश्वमा प्रभुत्व जमायो, तब उसैको विश्व व्यवस्थाका नैतिक नियमहरु उसैको मान्यताअनुरुप तय हुन थाले। अमेरिकी डलरले वेैश्विक अर्थतन्त्रको रुपरेखा तयार गर्न थाल्यो, डलर र अमेरिकाका प्रतिस्पर्धी देशहरुका मुद्रामा ठूलो अन्तर थियो, एयरवेज र तेल आपूर्तिमा अमेरिकाको ठूलो नियन्त्रण थियो। यसरी, वैश्विक अर्थतन्त्र ज्यादातर अमेरिकाकै हातमा थियो।
जब अमेरिकाले २००३ मा इराकमाथि हमला ग¥यो, तब यो व्यवस्था च्यातिन थाल्यो। यतिबेला अमेरिकाले संयुक्त राष्ट्रसंघलाई बेवास्ता गर्नेमात्र होइन, सद्दाम हुसैनले विनाशकारी आणविक हतिायर बनाउँदैछन् भनेर झुठ फैलाउने काम समेत ग¥यो।
२००८ को मन्दीले आर्थिक व्यवस्थाको विश्वसनीयतामा क्षति पुग्यो, यतिबेला एकपछि अर्को गर्दै अमेरिकी संस्थानहरू डुब्न थाले। यही समय रुस फेरि बलियो बनेर देखियो र वैश्विक आर्थिक महाशक्तीका रुपमा चीनको उदय भयो। २०१० को दशकमा अमेरिकाभित्र चलिरहेको सामाजिक–राजनीतिक संकट पनि उजागर हुन थाल्यो, यसको झल्को ट्रम्पवादको उदयमा देखिन्थ्यो। बढ्दो रंगभेदले ‘ब्ल्याक लाइभ्स् म्याटर’ अभियान चलायो र कोभिड १९ महामारीले विश्वलाई आक्रान्त पारिरहेको यही समय स्वास्थ प्रणाली झन्डै ध्वस्त हुने अवस्थामा पुग्यो।
अमेरिकी सेना हारेर फर्किएको चित्रलाई यो बृहत्तर सन्दर्भसँग जोडेर हेर्दा जो कोहीले पनि अमेरिकी प्रभुत्वको शताब्दी अन्त्यतिर आइपुगेको भन्न सक्छ।
पक्कै पनि यसको अर्थ अमेरिका असान्दर्भिक भइसक्यो भन्ने होइन। इतिहास हेर्दा कमजोर हुन थालेका साम्राज्यहरुले पनि महत्वपूर्ण अवस्थामा आफ्नो शक्तिको प्रयोग गरेका छन्। जस्तो– १९ औं शताब्दीमा ओट्टोमन साम्राज्य र १९ औं शताब्दीको अन्त्य र २० औं शताब्दीको सुरुमा रुसी साम्राज्यले गरेका थिए।
अमेरिका आज पनि विश्वको सबैभन्दा ठूलो सैन्य शक्ति हो। उसको अर्थतन्त्रको आकार र प्रभाव दुबै ठूलो छ। त्यसो भए के परिवर्तन भएको छ ? यसको जवाफ – आफ्नो शक्ति कायम राख्नका लागि प्रत्यक्ष वा अप्रत्यक्ष द्वन्द्व गर्ने उसको इच्छा हो। विश्वव्यापी प्रभूत्वप्रतिको अमेरिकी वितृष्णाको महसुस अफगानिस्तान र अन्यत्र रहेका उसका सहयोगीहरुले नै सबैभन्दा पहिले गरेका छन्।
Leave a Reply