Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • ‘तालिबानहरू ‘मानव अधिकार’ शब्दलाई नै घृणा गर्छन्’

    ‘तालिबानहरू ‘मानव अधिकार’ शब्दलाई नै घृणा गर्छन्’

    अनलाइन नेपाल
  • शनिबार, १२ भाद्र २०७८
  • 2.6K
    SHARES

    एजेन्सी । अफगानिस्तानको तेस्रो ठूलो सहर हेरातका बासिन्दाले तालिबानले सत्ता हातमा लिएयता आफ्नो जीवन पूर्ण रूपमा बद्लिएको बताएका छन्। हेरातको जनसङ्ख्या करिब पाँच लाख रहेको छ र सो सहर अगस्ट १३ मा तालिबानको हातमा पुगेको थियो।

    रणनीतिक रूपमा महत्त्वपूर्ण देशको पश्चिममा पर्ने उक्त प्रान्तीय राजधानी इरान र तुर्किमिनिस्तानसँगको सीमा नजिकै रहेको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यम बीबीसीले वर्षौँसम्म विभिन्न एनजिओमा काम गरेकी एक महिला साना र एक विद्यार्थी सायदसँग कुराकानी गरेको जनाएकाे छ । उनीहरूको सुरक्षाका लागि नाम परिवर्तन गरिएको पनि  बीबीसीले जनाएकाे छ।



    दुवै जनाले विगतमा विदेशी सङ्घसंस्थाहरूसँग काम गरेका थिए जसले उनीहरूलाई तालिबानबाट अरू मानिसको तुलनामा थप असुरक्षित बनाउन सक्ने जोखिम छ।



    यस्ताे छ उनीहरूकाे भनाई

    ९९ प्रतिशत महिला घरभित्रै : साना
    ‘प्रत्येक दिन म तालिबानहरूले गैरसैनिकमाथि बल प्रयोग गरिरहेको विवरण सुन्छु। उदाहरणका लागि एक हप्ताअघि यहाँ नजिकै तालिबानले केही सामान चोरेका दुई व्यक्तिको हात काटिदिएको सुनेँ। मैले तालिबानले आफूले अहिले सत्ता नियन्त्रणमा लिएको र नयाँ शासक बनाउन लागेको भन्दै मानिसहरूलाई फोन गरेको र सन्देशहरू पठाएको सुनेको छु।’

    ‘उनीहरूले महिलाहरूले काम गर्न जान नपाउने बताएका छन् र कुनै महिलाले बाहिर जान चाहे एक जना पुरुषसँगै हुनुपर्ने भनिरहेका छन्। पुरुषले जिन्स र टीसर्ट लगाउन नहुने र महिलाहरूले हिजाब वा बुर्का लगाउनुपर्ने र अरू मानिसहरूबाट अनुहार ढाक्नुपर्ने उनीहरूको भनाइ छ। तालिबानहरूका कारण महिलाहरू सहरभित्र जान डराइरहेका छन्। लगभग ९९ प्रतिशत महिलाहरू घरमै बसिरहेका छन्। पुरुषहरू समेत घरबाट बाहिर निस्कन डराइरहेका छन्।’

    सम्भवत मेरो जीवनको समाप्ति
    ‘तालिबानहरूसँग बन्दुक छ। उनीहरू साधारण मानिसजस्ता देखिँदैनन्। सहर गएका पुरुषहरू त्यहाँ लामो समय बस्न अप्ठेरो भएको बताएका छन्। उनीहरू काममा जान्छन् र घर फर्कने कोसिस गर्छन्। मेरो जीवनमा म पहिलो पटक घरमै बसिरहेकी छु। म एक हप्तादेखि घरमै छु। म बन्दी जस्तै भएकी छु। सम्भवतः यो मेरो जीवनको समाप्ति हो। अध्ययन छैन, काम छैन। मलाई बाहिर जान मन भए पनि मैले बुर्का वा हिजाब लगाउनुपर्छ जसले मलाई पीडा दिन्छ।’ मेरो भविष्यलाई लिएर म चिन्तित छु। मेरो विगतको कामले मलाई जोखिममा पार्न सक्छ। र यो अवस्थामा म केही किन्न पनि बाहिर जान सक्दिन।’

    म चाँडै निशानामा पर्नेछु
    ‘विगतमा मैले गर्ने गरेका काम गर्न अहिले असम्भव छ। मलाई लाग्छ मेरो भविष्य पूर्ण रूपमा ध्वस्त भएको छ। यदि म अफगानिस्तानमा बसे भने मेरो भविष्य उज्ज्वल हुनेछैन। मेरो जीवन नै ठप्प भएको मलाई लाग्छ। सम्भवतः म चाँडै निशानामा पर्नेछु। विशेषगरी मैले महिला अधिकारको पक्षमा गैरसरकारी संस्थाहरूमा काम गरेको छु। तालिबानहरू ‘मानव अधिकार’ शब्दलाई नै घृणा गर्छन्। मेरो विगतको कामका लागि उनीहरूले मलाई मार्ने प्रयास गर्ने छन्।’

    म अझै स्तब्ध नै छु
    ‘सहरमा पर्याप्त खाना र औषधीको आपूर्ति छ तर दुर्गम जिल्लामा जाने सडकहरू पछिल्लो केही हप्तायता बन्द छन्। मानिसहरू सहरमा आउन नपाउँदा उनीहरूले खानेकुरा र औषधिको अभाव जस्ता धेरै समस्याहरू भोगेका थिए। तर भाग्यवश अघिल्लो साताबाट सडक खुल्यो। इरान र तुर्किमिनिस्तानका सीमाहरू खुलेपछि हेरातमा खानेकुरा र औषधिको आपूर्ति भइरहेको मैले सुनेकी छु।’

    ‘लगभग दुई हप्ता हाम्रो क्षेत्रमा बत्ती थिएन किनभने तालिबानहरूले हाम्रो विद्युत् लाइनमा क्षति पुर्‍याइदिए। हेरातका अधिकांश क्षेत्रमा बिजुली छैन। बेला बेलामा हाम्रोमा पिउने पानी पनि हुँदैन। बेला बेलामा म आफ्नो आँखा बन्द गर्छु र म सुतिरहेको ठान्छु। म डरलाग्दो सपनामा हुन्छु। पछिल्लो २० वर्षमा सम्भवतः कसैले पनि तालिबान पुन: फर्किनेछन् र सम्पूर्ण अफगानिस्तान नै कब्जा गर्नेछन् भनेर सोचेका थिएनन्। म अझै स्तब्ध नै छु। हेरातमा राम्रो सुरक्षा व्यवस्था थियो। तालिबानले हेरात सहर कब्जा गर्लान् भनेर सोच्न पनि सकिँदैन थियो।’

    सैयदको अनुभव
    ‘उडानहरू र अरू सेवाहरू ठप्प छन् र ब्याङ्कहरू बन्द गरिएका छन्। राहदानी जारी गर्ने कार्यालयहरू बन्द हुँदा मानिसहरूलाई अफगानिस्तानबाट भाग्न गाह्रो भइरहेको छ। विद्यालयहरू छात्रा र छात्रहरूका लागि खुलेका छन्। तालिबानहरूले महिला विद्यार्थीहरूलाई पूर्ण रूपमा हिजाब लगाएर आउन भनेका छन्।’

    घर-घरमा खानतलासी
    ‘तालिबानहरू सर्वत्र छन्। आममाफी नदिने घोषणा गरे पनि उनीहरूले ढोका ढोकामा गएर खानतलासी गरिरहेका छन्।त्यसले मसहित धेरै जनालाई चिन्तित बनाएको छ। मैले उनीहरूले एक जना कविलाई बन्धक बनाएको सुने। उनी अझै बेपत्ता छन्। मेरो लागि सबै कुरा सिद्धियो। म आफ्नो अध्ययन पूरा गर्न लागेको थिएँ। तर अब म आफ्नो अन्तिम सेमेस्टरमा सहभागी हुन पाउँदिन।’

    ‘यो २० वर्षमा हासिल भएका सबै उपलब्धि अहिले गुम्यो र हामीलाई अब वास्तवमै केही आशा छैन। म एकदमै दुखी छु। अन्तर्राष्ट्रिय समुदायले अफगानिस्तानबाट आफ्नो हात झिक्यो। उनीहरू अब अफगान जनताको स्वतन्त्रताका लागि काम गर्दैनन्। महिलाहरू टिभी कार्यक्रम र समाचार प्रस्तोता हुनबाट रोकिएको देखिसकियो।’

    ‘मैलै अहिले अफगानिस्तानबाट बाहिर जाने उपाय खोजिरहेको छु। त्यसले नै मेरो आफ्नो भविष्य कोर्न बाटो खोल्छ किनभने मलाई अफगानिस्तानमा त्यो सम्भव हुन्छ जस्तो लाग्दैन। मैले सपना देखेको जस्तो त सम्भव नै हुँदैन।’ – स्राेत बीबीसी नेपाली

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार