Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • दार्चुला घटनाको छानबिन प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्ने गृहमन्त्रीको प्रतिबद्धता

    दार्चुला घटनाको छानबिन प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्ने गृहमन्त्रीको प्रतिबद्धता

    अनलाइन नेपाल
  • बिहिबार, १० भाद्र २०७८
  • 1.4K
    SHARES

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलाको जयसिंह धामी बेपत्ता भएको तुइन प्रकरणको छानबिन प्रतिवेदन यथाशीघ्र आउने बताएका छन् ।

    प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सदस्यहरुले उठाएको जिज्ञासाको जवाफ दिने क्रममा उनले घटनाको मन्त्रालयद्वारा गठित समितिले गम्भीर रुपमा छानबिन गरिरहेको बताए । उनले केही सदस्य काम विशेषले बाहिर जाँदा प्रतिवेदन तयार हुन ढिलाइ भएकोसमेत जानकारी दिए ।



    गृहमन्त्री खाँणले विसं २०५० देखि अहिलेसम्म उक्त जिल्लामा तुइनबाट खसेर २६ जनाको दुखद निधन भएको पनि जानकारी गराए । उनले महाकाली नदीमाथिको तुइन हटाएर पुल निर्माणका लागि पनि निर्देशन भइसकेको समितिलाई जानकारी गराए । “नागरिकको ज्यान जोगाउनु राज्यको दायित्व हो, नागरिकको जीवन रक्षाका लागि सरकार हिजो पनि गम्भीर थियो, आज पनि छ र भोलि पनि हुनेछ”, उनले भने ।



    गृहमन्त्री खाँणले नेपाल प्रहरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको नजिक पुगिसकेको र अनुसन्धानले पूर्णता पाएपछि सार्वजनिक हुने जानकारी पनि गराए । उनले कालोबजारी, पुन मिति टाँसेर खाद्यपदार्थ बिक्री गर्ने अवस्थाको अन्त्य र साना मान्छे पक्राउ पर्ने र मूल मान्छे छुट्ने अवस्था नहोस् भन्नेमा सरकार गम्भीर रहेको बताए । उनले कुनै पनि खाद्य पदार्थ आवश्यकताभन्दा बढी आयात भएको छ भने त्यसमा सम्बन्धित अधिकारीसँग छलफल गर्ने समेत आश्वासन दिए ।

    गृहमन्त्री खाँणसहित गृहसचिव टेकनारायण पाण्डे र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री उपस्थित समितिको बैठकमा सांसदहरुले उक्त घटनाको सत्यतथ्य सार्वजनिक गर्न र दोषीलाई कारवाहीको दायरामा ल्याउने सन्दर्भमा ढिलाइ भएरहेकोतर्फ ध्यानाकर्षण गराएका थिए ।

    उनीहरुले कालोबजारी नियन्त्रण र मितिसकिएको खाद्य पदार्थमा पुनः मिति राखेर बिक्री गर्ने कार्य नियन्त्रण गर्न पनि आग्रह गरेका थिए । बैठकमा सत्तारुढ नेपाली कांग्रेसका देवेन्द्रराज कँडेलले कालोबजारी गर्ने र अखाद्य वस्तुमा नयाँ मिति राखेर बिक्री गर्ने प्रवृत्ति बढ्दो क्रममा रहेकाले नियन्त्रणका लागि गृहमन्त्रीको ध्यानाकर्षण गरेका थिए ।

    नेपाली कांग्रेसका मीना पाण्डे र दीलेन्द्रप्रसाद बडूले पनि दार्चुला घटनाका विषयमा सरकारले निडरताका साथ छानबिन गर्नुपर्ने र छिटो सत्यतथ्य सार्वजनिक गर्नुपर्नेमा जोड दिए। यस्तै सोही पार्टीका अमरेशकुमार सिंहले राजनीतिक मिलेमतोका कारण मुलुकमा कालोबजारीका घटना हुने गरेको भन्दै त्यसतर्फ गम्भीर हुन आग्रह गरे ।

    नेकपा (माओवादी केन्द्र) का रेखा शर्मा र यशोदा गुरुङ सुवेदीले दार्चुला घटनाको सम्बन्धमा भएको छानबिन प्रतिवेदन सार्वजनिक गर्न भइरहेको ढिलाइले दोषीलाई कारवाही हुने अवस्थामाथि नै आशङ्का उब्जिएको छ भने ।

    साँसद सुवेदीले सुरुमा सरकारको पहलकदमी महत्वपूर्ण भए पनि पछिल्लो समयमा कमजोर प्रदर्शन भइरहेको बताए । साँसद शर्माले निर्मला पन्तको बलात्कारपछि भएको हत्याका दोषी पत्ता लाग्न नसक्दा समग्र नेपालीको नै शिर निहुरिएको बताउँदै गम्भीर प्रकृतिका घटनामा संवेदनशील हुन गृहमन्त्रीको ध्यानाकर्षण गराए । सोही पार्टीका महेश्वर जङ गहतराजले दार्चुलाको घटना छानबिन प्रक्रिया ढिलाइ भएको भन्दै तत्काल सत्यतथ्य सार्वजनिक गर्न माग गरे ।

    प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का महेश बस्नेतले दार्चुला घटनाका विषय दुई देशबीच छलफल गर्नुपर्ने भए पनि सरकार किन मौन भनी प्रश्न गरे । उनले भने, ‘समाजमा केही घटना घट्यो भने प्रहरीको खोजी किन हुँदैन, सामाजिक अभियन्ता र युट्युवरको खोजी हुन्छ किन ? कानून कार्यान्वयन गर्ने निकाय कहाँनिर चुक्यो, गम्भीर हुनुपर्ने बेला आएको छ ।’

    समितिका सदस्य नेकपा (एकीकृत समाजवादी) का झपटबहादुर रावलले दार्चुला घटनामा जयसिंह धामी बगेको नभइ बगाएको र खसेको नभइ खसाइएको हो, भने । उनले खुला सीमानाका कारण नेपालमा आपराधिक गतिविधि बढ्दो रहेको दाबी गरे ।

    नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले दार्चुला घटनाको छानबिन प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ भएको प्रति असन्तुष्टि व्यक्त गरे ।-रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार