Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एमालेका यी चार सांसदको पद धरापमा

काठमाडौं – नेकपा एकीकृत समावजादी पार्टीका लागि सनाखत गर्न गएका एमालेका ४ सांसदको पद धरापमा परेको छ। बुधबार आयोगमा सनाखत गर्न गएका ४ सांसदले सनाखत गर्न नपाएपछि सांसद पद धरापमा परेको हो।

एमाले पार्टी छाडेर माधव नेपालको नयाँ पार्टीमा मोडिएका सांसदहरु सोमप्रसाद पाण्डे, माया ज्ञवाली, तुलसा थापा र शारदादेवी भट्ट यतिबेला अप्ठ्यारोमा परेका छन्। माधव नेपालले गत भदौ २ गते निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिँदा उनीहरुले हस्ताक्षर गरेका थिएनन्। आयोगले कानुनअनुसार दल दर्ताका लागि दिइएको निवेदनमा हस्ताक्षर नगरेकाले सनाखत गर्न नपाउने बताएको थियो।

शुरुमा नेपाल समूहमा नलागी पछि निवेदन दिएका चार सांसदमध्ये पाण्डे प्रतिनिधिसभाका प्रत्यक्ष निर्वाचित सांसद हुन् भने ज्ञवाली र थापा समानुपातिक सांसद हुन्। भट्ट राष्ट्रियसभा सदस्य हुन्।

आयोगले सनाखत गर्न नदिने बताएपछि नेताहरु र आयुक्तबीच चर्काचर्कीसमेत भएको थियो। निर्वाचन आयोगले सनाखतमा मान्यता नदिएपछि अब उनीहरुले सांसद पद जोगाउन केपी ओली नेतृत्वको एमालेमै बस्नुपर्ने भएको छ।

तर, नयाँ पार्टीतिर लम्किएका उनीहरुलाई एमालेले कारबाही गर्ने सम्भावना छ। ती सांसदहरु आफैं एमाले त्यागेर एकीकृत समाजवादीमा गए वा एमालेले कारबाही गरे उनीहरुको सांसद पद गुम्नेछन्।

तर उनीहरु एमालेमै बस्न चाहेमा र एमालेले कारबाही नगरे सांसद पद जोगिनेछ। नयाँ दलले मान्यता पाएका कारण माधव नेपालको पक्षमा सुरुमै लागेका ३० सांसदको भने पद जोगिएको छ। एमालेले कारबाही गरेका भनिएका माधव नेपालसहित १४ सांसदलाई समेत आयोगले मान्यता दिएको थियो।

त्यस्तै, नेपाल पक्षका थप तीनजना केन्द्रीय सदस्यहरुको पनि सनाखत भएन। केन्द्रीय सदस्यहरु रामप्रित पासवान, विक्रम शाही र राजन राईलाई आयोगले सनाखत गर्न नदिएको हो। तर, उनीहरुलाई एकीकृत समाजवादी पार्टीमा पछि मनोनयन गर्न सक्ने आधार रहेको छ।

उता, सनाखत नभएका सांसद सोमप्रसाद पाण्डेय पनि केन्द्रीय सदस्य रहेकाले उनको सांसद पद गुम्यो भने पनि पार्टीको केन्द्रीय कमिटीमा मनोनयन हुन सक्ने अवस्था रहेको छ। बुधबार आयोगले नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गरी प्रमाणपत्र दिइसकेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077