काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले ललितपुरस्थित कुम्भेश्वर अर्थात् सर्वेश्वर महादेव मन्दिरको जीर्णाेद्धारपछि आज उद्घाटन गरेका छन्।
सो अवसरमा प्रधानमन्त्री देउवासहित पत्नी आरजु राणाले मन्दिर परिसरमा रहेका बङ्गलामुखी देवी तथा उन्मत्त भैरवको समेत पूजाअर्चना गरेका हुन्। प्रधानमन्त्री देउवालाई बङ्गलामुखी–कुम्भेश्वर मन्दिरका मूल पुजारी माधवश्याम शर्माले प्रसाद स्वरुप रुद्राक्षको माला लगाई दिएका थिए।
विसं २०७२ को भूकम्पबाट मन्दिरमा क्षति पुगेको थियो । भूकम्पले पाँचतले मन्दिरको तीन तलामा क्षति पुर्याइएको थियो । डेढ महिनाअघि निर्माण सम्पन्न भएपनि आजको साइतमा माथिल्लो तलामा गजूर राखिएको पूजारी शर्माले बताए ।
मन्दिरमा राखिएको गजूर, छत्र, झलर, कमलको फूल र उत्खनन गरिएका दुईवटा त्रिशूल तथा २५ तोला सुनको जलप लगाइएको टोल सुधार समितिका उपाध्यक्ष वसन्त खड्गीले बताए ।
मन्दिर जीर्णाेद्धारको ठेक्का धर्मेश तुलसी ड्रामा ज्वाइन्ट भेन्चरले भ्याटसहित रु दुई करोड ८५ लाखमा लिएको थियो । मन्दिरको चौथो तला छतमा २० गेजको तामा हालिएको छ। -रासस
Leave a Reply