Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • भूपू गोर्खा सैनिकको मागबारे वार्ता गर्न बेलायत तयार, १३ दिनपछि तोडियो अनसन

    भूपू गोर्खा सैनिकको मागबारे वार्ता गर्न बेलायत तयार, १३ दिनपछि तोडियो अनसन

    अनलाइन नेपाल
  • शुक्रबार, ४ भाद्र २०७८
  • 2.6K
    SHARES

    काठमाडौँ । समान पेन्सनलगायतका माग राख्दै १३ दिनदेखि आमरण अनशनमा रहेका पूर्व गोर्खाले बिहीबार अनशन तोडेका छन् । जुलाई २१ देखि १७ दिने रिले अनशनपछि पछिल्लोपटक १३ दिनदेखि आमरण अनशन बस्दै आएका ज्ञानराज राई, सचिव धन गुरुङ र महिला अभियानकर्मी पुष्प राना घलेले बेलायती रक्षा मन्त्रालयको आधिकारिक धारणा आएपछि अनशन तोडेका हुन् ।

    गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले आफूहरूले राख्दै आएका मागमा भनेअनुरुप दुवै देशका सरकारबीच सहमति भएकाले अनशन तोडिएको बताए । माग सम्बोधन गर्ने कुरा व्यक्त गर्दै अनशनस्थल पुगेकाबेलायत सरकारका रक्षा राज्यमन्त्री लियो डोचेर्टीका साथमा बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी थिए । उनी दुवैले अनशनरत अभियानकर्मीलाई जुस खुवाएर अनशन तोडाएका थिए ।



    अनशन तोडेपछि राजदूत रेग्मीले गोर्खाका मुद्दामा बेलायत सरकार वार्ताको टेबलमा बस्न तयार भएको बताएका थिए । प्राविधिक संयन्त्रको सिफारिसकै आधारमा बेलायत, नेपाल र गोर्खासहितको वार्ताको सहमति बनेको उनले जानकारी दिए ।



    उक्त सहमतिअनुसार आगामी सेप्टेम्बर ८ मा बेलायत सरकारका अधिकारी र नेपाली अधिकारी तथा गोर्खाबीच प्रारम्भिक छलफल हुने र डिसेम्बरबाट वार्ता सुरु हुने प्रमुख संयोजक राईले जानकारी दिए । सत्याग्रह समितिले बेलायतका पूर्वगोर्खा, विभिन्न राजनीतिक दल तथा तिनका नेता र आम नागरिक सबैलाई आफ्नो आन्दोलनमा समर्थन गरेकामा धन्यवाद दिएको छ ।

    अनशनरत भूपूगोर्खाको विषयलाई लिएर बिहीबार मात्र सर्वोच्च अदालतले नेपाल सरकारका नाममा तत्काल बेलायत सरकारसँग वार्ता गर्न र आमरण अनशनमा रहेका तीन भूपूगोर्खाको जीवनरक्षाका लागि आवश्यक पहल गर्न अन्तरिम आदेश जारी गरेको थियो । बुधबार गैरआवासीय नेपाली युकेले नेपाल सरकारलाई पत्र पठाएर गोर्खाहरूको समस्या समाधानका लागि पहल गर्न अनुरोधसहित ज्ञापनपत्र बुझाएको थियो ।-रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार