विश्वविख्यात साहित्यकार आन्द्रेई जिद साहित्यका सबै विधामा उत्तिकै सुन्दर ढङ्गले कलम चलाएर नोबेल पुरस्कार जित्ने लेखक हुन्।
यिनले साहित्यका उपन्यास, नाटक, जीवनी, समालोचना, आत्मकथा, यात्रासंस्मरण विधाका दुई दर्जभन्दा बढ्ता कृतिहरु विश्व वाङ्मयलाई प्रदान गरेर अविष्मरणीय गुन लगाएका छन्।
उनले आफ्ना कृतिहरुमा पात्रहरुको स्वानुभूतिको जीवनन्त प्रस्तुतिलाई मुख्य रुपमा महत्व प्रदान गरेका छन्। आफ्ना रचनाबाट उनले नैतिक आदर्शको खेतीमात्र गरेनन्, साहित्यमा कलात्मक सौन्दर्यको प्रकटीकरणमा बढी ध्यान दिए। जीवनका वास्तविकताहरुलाई कुनै पाखण्डका बर्का नओढाइ बाहिर उतारिदिन्थे।
उनको बेजोड साहित्य लेखनले सन् १९४७ को नोबेल पुरस्कार पाएका यी लेखकको जन्म सन् १८६९ मा फ्रान्सको राजधानी पेरिसमा भएको थियो। यिनी एक शिक्षित परिवारमा जन्मेका थिए। यिनका पिताजी पेरिस विश्वविद्यालयमा कानुनका प्रोफेसर थिए। तर दुःखको कुरा यिनी आठ वर्षको हुँदा नहुँदै पिताजीको मृत्यु भयो। बाबु मरे पनि आमाको ममतामयि काखमा हुर्किए। स्कुल पढ्दै खेरी साथीहरुको सङ्गतले साहित्यतिर लहसिँदै गए।
उनले पहिलोचोटि चौबीसवर्षको उमेरमा अफ्रिका भ्रमणमा गए। यो भ्रमणले यिनको साहित्यलेखनको अन्तर्दृष्टिलाई ज्यादै फराकिलो बनाइदियो। तेह्र वर्षको उमेरमा आफ्नी भतिजीसित प्रेमजालमा परेका यिनले पच्चीस वर्षको उमेरमा उसैसित विवाह गरे।
हामी नेपालीहरुको संस्कृतिसँग बेमेल राख्ने घटना भए पनि उनीहरुको समाज र संस्कृतिले यसलाई सहज रुपमा लिइदियो। फेरि यिनले आफू समलिङ्गी भएको कुराले खुल्ला रुपमा स्वीकारे। यसै कारण यिनको नैतिक चरित्रमा प्रश्न उठ्यो। जसले गर्दा अलि छिटो पाउने नोबेल पुरस्कार ढिलो पाए।
यिनले समाजका निम्न तहका मानिसहरुका आवाज र आकांक्षालाई साहित्यको माध्यमबाट मुखरित गरिदिए। एकसमय यिनले आफूलाई कम्युनिष्ट (बामपन्थी) घोषणा गरेर विवादित बन्ने काम पनि गरे। दोस्रो विश्वयुद्धको अन्ततिर उनी उत्तर अफ्रिकामा स्वनिर्वासित जीवन बिताए र युद्धको अन्त्य भएपछि फेरि पेरिस फर्केर आए। लेखेरै चर्चित र सम्मानित भएका यी लेखकको निधन सन् १९५१ मा पेरिसमा भयो।
साभार : ‘महान् व्यक्तिका प्रेरक प्रसङ्गहरू’ पुस्तकबाट
Leave a Reply