एजेन्सी । अफगानिस्तानका राष्ट्रपति अशरफ गानीले देश छाडेर भागेका छन्। रोयटर्सलाइर्ए उदृत गर्दै अलजजिराले जानकारी दिए अनुसार उनी ताजकिस्तानतर्फ लागेका हुन्।
समाचारमा उल्लेख गरिएअनुसार सुरक्षाका कारण देखाउँदै अधिकारीहरुले थप जानकारी दिएका छैनन्। आजै तालिवान लडाकुहरु राजधानी काबुल पसेपछि गानीले देश छाडेका हुन्। तालिबानको धम्कीपछि उपराष्ट्रपति अमरुल्लाह सलेहले पनि देश छाडेका छन्।
अफगानिस्तानमा विद्रोही समूह तालिबानसामु सरकार निरीह भएको छ। दोहोरो भिडन्तमा अफगानी सेनाले हार मानिसकेको छ। आइतबार केही सेनाहरु पनि देश छाडेर भागेका थिए। पछिल्ला दिनहरुमा शक्तिशाली बनिरहेको तालिबान आइतबार काबुल प्रवेश गरिसकेको छ।
अफगानिस्तानमा तालिवानीहरुले पुरै शहर कब्जा गरेपछि विभिन्न देशहरुले त्यहाँ रहेका आफ्ना नागरिकहरुलाई स्वदेश फिर्ता ल्याउने पहल गरिरहेका छन्।
यसैबीच, त्यहाँ रहेका नेपालीको उद्दार गर्न राष्ट्रिय ध्वजावहाक नेपाल वायुसेवा निगमको जहाज राजधानी काबुल जाने तय भएको छ। अफगानिस्तानबाट विदेशी नागरिकहरूको भागाभाग चलिरहेकै बेला नेपालीहरूको उद्धारका लागि निगमको जहाज अफगानिस्तान जाने तय भएको हो।
निगमका अनुसार आगामी भदौ ११ गते चार्टर उडानमार्फत् न्यारोबडी जहाज काबुल जाने तय भएको छ, त्यसका लागि दुबईको फ्रिको एफजेड कम्पनीले चार्टर बुकिङ गरेको हो ।
यद्यपि, फ्लाइट बुकिङ भइसके पनि सुरक्षा अवस्थालाई ध्यानमा राख्दै निगमले परराष्ट्र मन्त्रालयसँग अनुमति माग गरेको बताएको छ। ‘उडान सुरक्षाको प्रत्याभूति सहित परराष्ट्रमन्त्रालयबाट अनुमति पाए अफगानिस्तान चार्टर उडान भर्न निगम तयार छ’ निगमले भन्यो।
Leave a Reply