एजेन्सी । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मन (पिएसजी)ले शानदार जित निकालेको छ। शनिबार राति भएको खेलमा पिएजसीले स्ट्रासबर्गलाई ४–२ गोलले पराजित गरेको हो।
घरेलु मैदानमा टोलीलाई जिताउन माउरो इकार्डी, किलियन एमबाप्पे, जुलियन ड्राज्लर र पाब्लो सराबियाले गोल गरेका छन्। स्ट्रासबर्गका लागि केभिन गेमेइरो र लुडोभिक अजोर्क्वीले गोल फर्काएका छन्।
खेलको शुरुवातदेखि नै आक्रामक देखिएको पिउसजीले ३ मिनेटमा नै अग्रता बनाउन सफल भएको थियो। डि–बक्समा आएको क्रस बललाई इकार्डीले हेडरमार्फत पोष्टको दिशा दिएका थिए। त्यस्तै, खेलको २५ औं मिनेटमा घरेलु टोलीले अग्रता दोब्बर बनायो। उक्त समय एमबाप्पेले गोल गरे।
त्यसको दुई मिनेट नबित्दै ड्राज्लरले उत्कृष्ट गोल गर्दै पहिलो हाफमा घरेलु टोलीलाई ३–० को अग्रता दिलाए। पहिलो हाफमा निरीह देखिएको स्ट्रासबर्गले दोस्रो हाफमा केही सम्हालिएको प्रदर्शन गरेको थियो।
५३ औं मिनेटमा गेमेइरोले गोल गर्दै स्ट्रासबर्गलाई राहत दिलाएका थिए। त्यसपछि एकपछि अर्को आक्रमण बुन्ने प्रयास गरेको स्ट्रासबर्गले ६४ औं मिनेटमा दोस्रो गोल गर्न सफल भयो। त्यस समय लुडोभिकले पाहुना टोलीलाई खेलमा फर्काएका थिए।
८१ औं मिनेटमा स्ट्रासबर्ग १० खेलाडीमा समेटियो अलेक्ज्याण्डर डिजिकु रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए। त्यसपछि थप दबाब महसुस गरेको पाहुना टोलीले गोल फर्काउनुको सट्टा थप एक गोल खायो। ८६ औं मिनेटमा सराबियाले गोल गर्दै पिएसजीको जित पक्का गरे।
यो लिगमा पिएसजीको लगातार दोस्रो जित हो। जितसँगै पिएसजी २ खेलबाट ६ अंकका साथ शीर्षस्थानमा उक्लेको छ। लगातार दुई खेलमा पराजित स्ट्रासबर्ग तालिकाको अन्तिममा छ।
Leave a Reply