काठमाडौं। गृहमन्त्री बनेको एक महिनासम्म पनि प्रहरी प्रधान कार्यालयको निरीक्षणमा समेत नगएको भनेर आलोचना खेपेका बालकृष्ण खाँड आईतवार प्रहरी हेडक्वार्टर जाने कार्यक्रम तय भएको छ।
गृहमन्त्री खाँडका कारण प्रहरी संगठन अस्तव्यस्त हुन थालेको टिप्पणी भइरहेको बेला उनी आईतवार बिहान प्रधान कार्यालय जान लागेको स्रोतको भनाइ छ।
गृहमन्त्री खाँड सशस्त्र प्रहरीको पनि निरीक्षण नगरि असईको पासआउट कार्यक्रममा प्रमुख अतिथी बनेर मातातिर्थस्थित एकेडेमी पुगेका थिए ।
नयाँ गृहसचिब आएपछि उनले प्रहरीमा चासो राख्न थालेको वताइएको छ।
सामान्यतया नयाँ गृहमन्त्री र सचिव एक सातामै दुवै प्रहरी कार्यालयको निरीक्षणमा गएर ब्रिफिङ लिने प्रचलन भए पनि खाँडले नेपाल प्रहरीको ब्रिफिङमा चासो लिएका थिएनन् । प्रहरीको सरुवा / बढुवामा उनले हस्तक्षेपका लागि संकेत गरिसकेका छन्।
खाँणको निर्देशनमा सशस्त्रका इन्सपेक्टरको एकल काज सरुवा भएको थियो । खाँणको निर्देशनमा इन्सपेक्टर कृष्ण अर्याललाई रुपन्देहीको डन्डा बिओपीमा काज सरुवा गरिएपछि उनी बिबादमा मुछिएका थिए ।
अन्य बिओपीमा समेत सरुवाका लागि गृहमन्त्री निकट व्यक्तिहरुले चलखेल थालेका छन् । खाँडले भाषणमा भने चिनजानका आधारमा नभई काम र कर्तव्यका आधारमा कर्मचारीको जिम्मेवारी र मूल्याङ्कन हुने बताउने गरेका छन् ।
सईबाट इन्सपेक्टरमा भएको बढुवालाई हेर्ने हो भने १७ वर्षसम्म एउटै पदमा कायम रहेकालाई छाडेर ब्याच मिच्दै बढुवा गरिएको छ। इन्सपेक्टरमा भएको बढुवामा ३ वर्ष सिनियर सईलाई उछिनेर नेताका पीएसओ र कारवाही भोगेका सिफारिस भएका थिए ।
इन्स्पेक्टरमा बढुवा भएका ९८ जना मध्ये ३० जना भन्दा बढीलाई ब्याच मिचेर बढुवा गरिएको थियो । २०६१ साल र २०६२ सालमा बढुवा भएका ३० भन्दा बढी सईहरु गृहमन्त्री खाँडकै हस्तक्षेपले गर्दा इन्स्पेक्टरमा बढुवा हुन पाएनन् । यता, शक्तिकेन्द्रको दबाबले गर्दा २०६३ सालमा बढुवा भएका सईहरु भने इन्स्पेक्टरमा बढुवा हुन सफल भए ।
बढुवामा गृहमन्त्री खाँडको हस्तक्षेपले आईजीपी शैलेश थापा क्षेत्री निरीह बनेका थिए।
गृहमन्त्री खाँडकै कारण नेपाल प्रहरीको एआईजी सरुवा पनि अबरुद्द बनेको छ। गृहमन्त्री खाँड र आईजीपी क्षेत्रीबीच प्रहरीको सरुवा /बढुवामा तालमेल हुन नसकेको प्रहरी हेडक्वार्टरमा चर्चा हुने गरेको छ ।
Leave a Reply