Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

'सुवास नेम्वाङले 'सकुनी'को रोलमा 'बा'लाई बालुवाटारदेखि बाजागाजासहित बालकोट पुर्‍याए'

काठमाडौं। प्रतिनिधिसभा सदस्य रंगमती शाहीले नेकपा एमालेको आज यो हालत हुनुमा पार्टीकै नेता सुवास नेम्वाङको हात रहेको बताएकी छिन्।

आज प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेसकी सांसद शाहीले संविधानसभाका अध्यक्ष तथा एमाले सांसद नेम्वाङमाथि कटाक्ष प्रकट गर्दै उनले महाभारतका पात्र सकुनीको रोल खेल्दा केपी शर्मा ओलीको हालत दुर्योधनको जस्तो भएको बताइन्। यसअघि एमाले नेता नेम्वाङले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई परमादेशको सरकार भनेकोमा सांसद शाहीले कटाक्ष गर्दै यस्तो भनेकी हुन्।

'संविधानसभाको अध्यक्षज्यूले परमादेशको सरकार भन्नुहुन्छ। संविधानको अभिभावक नै सकुनीको रोलमा हुनुहुन्छ। सकुनीले रोल खेल्दा दुर्योधनको हालत के भएको थियो? उनले प्रश्न गरिन्, 'त्यस्तै गरेर सकुनीको रोल खेल्दै गर्दा 'बा'लाई बालुवाटारदेखि बाजागाजासहित बालकोटको बाह्र तलेसम्म पुर्‍याउन सफल हुनुभयो। यसका लागि म उहाँलाई धन्यवाद दिन्छु,'शाहीले थपिन्, 'सकुनीको रोल खेल्दै गर्दा दुर्योधनको जस्तो हालत हाम्रो पूर्वप्रधानमन्त्रीज्यूको भयो।'

यस्तै, शाहीले अहिलेको सरकार पाँच पाण्डवको भएको बताउदै नेम्वाङप्रति कटाक्ष जारी राखिन् 'परमादेश नै हो भन्दै गर्दा यो प्रतिनिधिसभामा आउँदै गर्दा उहाँलाई अलिकति अप्ठ्यारो लाग्छ होला।' उनले भनिन्, 'किनभने संविधानको अभिभावकको नाताले यो हलभित्र पस्दै गर्दा उहाँलाई एक खुट्टा बाहिर र एक खुट्टा भित्र टेकौं भन्ने मन हुन्छ होला। मैले उहाँलाई राजीनामा नै दिनुस् त भन्दिनँ, भने पनि दिनुहुन्न होला। तर चिन्ता के हो भने, अब प्रतिनिधि सभाको अवधि सकिएपछि संविधानको व्याख्या गरेर बस्नुहुन्छ होला कि सकुनीकै रोलमा बस्नुहुन्छ होला। मैले मात्रै भनेको होइन, जनताको आवाज हो,' शाहीले भनिन्।

सांसद शाहीले नेता नेम्वाङलाई नेपाली जनताले संविधानको अभिभावक भनेर चिन्ने गरेको बताउदै भनिन् 'संविधानको धारा ७६ (५) देखि माथि लेख्दाखेरी त्यतिबेला संविधान सभाको अध्यक्ष को हुनुहुन्थ्यो, मलाई थाहा छैन, म त्यतिबेला संविधानसभाको सदस्य थिइनँ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077