Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • देउवाका दुई सारथी : बेच्ने अर्थमन्त्री, किन्ने स्वास्थ्य मन्त्री !

    देउवाका दुई सारथी : बेच्ने अर्थमन्त्री, किन्ने स्वास्थ्य मन्त्री !

    अनलाइन नेपाल
  • बिहिबार, १४ साउन २०७८
  • 3.6K
    SHARES

    काठमाडौ । माओवादी लडाकुहरूका निम्ति खरिद गरिएको अस्पताल सञ्चालन गर्न नसकेपछि बिक्री गर्ने र उक्त अस्पताल सावाँका सावाँमा खरिद गर्ने व्यक्ति शेरबहादुर देउवा नेतृत्वको मन्त्रिमण्डलमा एक साथ समेटिएका छन् । २०६३ सालमा खुला राजनीतिमा आएपछि लडाकुहरूको उपचार तथा रोजगारीका निम्ति भन्दै नेता जनार्दन शर्मा प्रभाकरको अगुवाइमा बालाजुस्थित ‘जनमैत्री अस्पताल’ खरिद गरिएको थियो ।

    पहिले नारायण बजाज नामक मारवाडी व्यापारीको नाममा रहेको अस्पताललाई जनार्दन शर्माको टोलीले खरिद गरेपछि ‘जनमैत्री’ नामाकरण गरिएको थियो । अस्पतालको नाम परिवर्तन गरेसँगै माओवादीले अस्पताल धितो राखी बैङ्कसँग ऋण लिने प्रक्रिया अगाडि बढाएको थियो । तर लडाकुद्वारा सञ्चालित अस्पताल भएकोले बैङ्कहरू ऋण उपलब्ध गराउन मञ्जुर भएका थिएनन् ।



    २०६५ सालमा बाबुराम भट्टराई अर्थमन्त्री भएपछि उनकै दबाबमा अठ्ठाईस (२८) करोड रुपैयाँ ऋण उपलब्ध गराउन बैङ्कलाई बाध्य पारिएको थियो । हिमालयन बैंकको नेतृत्वमा इन्भेस्टमेन्ट, राष्ट्रिय बाणिज्य बैङ्क, ग्लोबल र सिटिजनलगायत आठ वटा बैङ्कको ‘कन्सोर्टिएम’बाट ऋण दिलाउन त्यसबेला बाबुराम भट्टराईको दबाबमा नेपाल राष्ट्र बैङ्कलाई आफ्नो निर्देशिका बदल्न बाध्य पारिएको थियो । दीपेन्द्रबहादुर क्षेत्रीलाई गभर्नर बनाएर उनीमार्फत निर्देशिका बदलिएको थियो ।



    ‘प्राथमिकता क्षेत्र’ भनेर बढीमा पच्चीस लाखसम्म ऋण उपलब्ध गराउन सक्ने व्यवस्था राष्ट्र बैङ्क निर्देशिकाले गरेको भए पनि जनमैत्री अस्पताललाई ‘प्राथमिकता क्षेत्र’मा पारेर अठ्ठाइस करोड रुपैयाँ उपलब्ध गराइएको थियो । ‘जनमैत्री अस्पताल’बाहेक अन्य कसैले पनि त्यस किसिमको विशिष्ट सुविधा पाउन सकेका छैनन् । यसरी राष्ट्र बैङ्कको निर्देशिका नै परिवर्तन गरेर अठ्ठाइस करोड रुपैयाँ ऋण प्राप्त गर्न सफल भए पनि माओवादीको टीम अस्पताल सञ्चालन गर्न सफल भएन ।

    बाह्र वर्षदेखि बैङ्कहरूले ब्याज पाउन सकेनन् र, माओवादीलाई कालो सूचीमा राखि अस्पताल लिलाम गराउने ‘हिम्मत जुटाउन’ पनि बैङ्कहरूले सकेनन् । बाह्र वर्षमा बैङ्कहरूको ब्याज थपिएर ऋण करिव डेढ अर्ब रुपैयाँ पुगिसकेको थियो । केही साताअघि बैङ्कको साँवा रकम अठ्ठाइस करोड बुझाएर उमेश श्रेष्ठले जनमैत्री अस्पताल आफ्नो नाममा ल्याएका छन् । सर्वसाधारण जनतालाई सहुलियत दिनुपर्ने भएमा बैंकहरूले कम्तिमा सावाँको दोब्बर रकम लिएर सम्पत्ती नामसारी गर्दछन् । तर उमेश श्रेष्ठले ब्याज बापत एक रुपैयाँ नबुझाई आफ्नो नाममा अस्पताल ल्याउने सफलता पाएका छन् ।

    बालाजुस्थित उक्त अस्पताल बिक्री गर्ने जनार्दन शर्मा यतिबेला अर्थमन्त्री छन् भने खरिदकर्ता उमेश श्रेष्ठले स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् । अबका केही वर्ष शिक्षा व्यापारभन्दा स्वास्थ्यको व्यापार चम्कने देखिएपछि प्रथम महिलासँगको सल्लाहमा उमेश श्रेष्ठले जनमैत्री अस्पताल खरिद गरेको बुझिएको छ । श्रेष्ठले खरिद गरेलगत्तै अस्पताललाई चर्चामा ल्याउन केही व्यक्तिले कोरोनाको निःशुल्क उपचार हुने भनी ब्यापक प्रचारप्रसार गरेका थिए । अब स्वास्थ्य क्षेत्रमा बलियो नेटवर्क बनाएर काम गर्ने योजनामा जनमैत्री अस्पतालका मालिक एवम् स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ रहेको बुझिएको छ ।-(घटना र बिचारबाट साभार)

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार