Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

इजरायलमा १ हजार नेपालीका लागि रोजगार खुल्यो, मासिक तलब २ लाखसम्म, अनलाइनबाटै फर्म भर्न सकिने

काठमाडौं । इजरायल सरकारले एक हजार नेपालीको रोजगारीका लागि आवेदन खुला गरेको छ ।

मंगलबार वैदेशिक रोजगार विभागले आवेदन मागको सूचना जारी गर्दै औपचारीक रूपमा इजरायलले रोजगार खोलेको जानकारी गराएको हो ।

विभागका अनुसार इजरायलले केयरगिभर कामका लागि एक हजार नेपाली श्रमिक लैजान सूचना जारी गरेको हो । तीमध्ये ७० प्रतिशत अर्थात सात सय महिला र ३० प्रतिशत अर्थात तीन सयजना पुरुषले अवसर पाउनेछन् ।

मासिक तलब करिब दुई लाख
विभागको सूचना अनुसार इजरायलमा जाने कामदारको मासिक तलब एक लाख ९३ हजार नेपाली रूपैयाँ छ । ड्युटी समय दिनको ६ घण्टा हुनेछ ।

इजरायल जाने कामदारको खानाको प्रबन्ध आफैले मिलाउनुपर्ने भए पनि बस्ने प्रबन्ध भने रोजगारदाताले नै गर्ने सूचनामा उल्लेख गरिएको छ । एक पटक रोजगारमा जाने करार अवधि एक बर्षको हुने भए पनि करार थपिएर पाँच बर्षसम्म बस्न पाइने व्यवस्था गरिएको छ ।

यस्तो छ मापदण्ड
१. आवेदकको उमेर २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्ने ।

२. आवेदकको उचाई कम्तीमा १.५ मिटर र तौल कम्तीमा ४५ केजी हुनुपर्ने ।

३. आवेदकको शैक्षिक योग्यता कम्तीमा दश कक्षा उत्तीर्ण गरी अनमी वा सीएमएसम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको वा कक्षा १२ वा सो सरहको       शैक्षिक योग्यता हासिल गरी नेपाल सरकारबाट मान्यता प्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभिङ्गसम्बन्धी कम्तीमा ३ महिनाको तालिम प्राप्त गरेको हुनुपर्ने ।

४. आवेदकको पासपोर्ट म्याद समाप्त हुँन कम्तीमा ३ वर्ष बाँकी रहनुपर्ने ।

५. आवेदक विगतमा इजरायल गई कार्य नगरेको हुनुपर्ने ।

६. आवेदकको बुवा, आमा, पति, पत्नी, छोरा वा छोरी इजरायलमा बसोबास नगरेको वा कार्यरत नरहेको हुनुपर्ने ।

७. आवेदक लागुपदार्थ वा मादक पदार्थ दुर्व्यसनमा नलागेको हुनुपर्ने ।

लागत एक लाख ६५ हजार
वैदेशिक रोजगार विभागले इजरायल जान चाहने कामदारका लागि लाग्ने लागतको बारेमा समेत स्पष्ट पारेको छ । खर्च शीर्षकमा राहदानी बनाउँदादेखि इजरायल जाँदासम्मको उल्लेख छ । हवाई भाडा आफैंले तिर्नुपर्ने हुँदा नेपाल-इजरायलको एकतर्फी हवाई भाडा करिव एक लाख ४० हजार लाग्नेछ । त्यस्तै बीमाको लागि पाँच हजार लाग्छ ।

अनलाइनबाट आवेदन दिन सकिने
इच्छुकले अनलाइनबाट आवेदन दिनसक्ने व्यवस्था गरिएको छ । यसका लागि विभागको वेबसाइटमा गएर आवेदन दिन सकिने छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077