Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री देउवालाई बीपी प्रतिष्ठानको जायज माग सम्बोधन गर्न बाबुरामको आग्रह

काठमाडौं । जनता समाज पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शुद्धीकरण अभियानप्रति ऐक्यबद्धता जनाएका छन् ।

बिहीबार पूर्वप्रधानमन्त्री भट्टराईले एक सार्वजनिक अपिल जारी गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई तत्काल वार्ताको माध्यमद्वारा जायज मागहरूको सम्बोधन गर्न समेत आग्रह गरेका छन् ।

'नेपालकै सबैभन्दा ठूलो र चिकित्सा क्षेत्रमा राष्ट्रिय अन्तर्राष्ट्रिय साख राख्न सफल यो प्रतिष्ठान, सरकारको र सत्तारुढ पार्टीको अनावश्यक हस्तक्षेप र असक्षम पदाधिकारीहरूको नियुक्तिको कारण दिनानुदिन अधोगतितिर जानु समग्र राष्ट्रकै लागि दुःखद भएको अध्यक्ष भट्टराईको भनाइ छ । ‘विश्वविद्यालयहरू, प्रतिष्ठानहरू तथा अन्य प्राज्ञिक क्षेत्रमा हुने प्रत्येक नियुक्तिहरू स्थापित मापदण्डका अनुरुप तथा कार्यक्षेत्र र कार्यप्रकृतिको मर्यादा कायम गर्ने हैसियतका हुनुपर्छ भन्ने हाम्रो सदैव अडान रहेको छ,’ भट्टराईले जारी गरेको सार्वजनिक अपिलमा लेखिएको छ ।

‘जारी अभियानप्रति ऐक्यबद्धता जनाउँदै नेपाल सरकार र विशेष गरी प्रधानमन्त्री समक्ष तत्काल वार्ताको माध्यमद्वारा जायज मागहरूको सम्बोधन गर्न आह्वान गर्दछु,’ भट्टराईले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077