काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा वार्ता गरेर शान्तिपूर्ण राजनीतिमा आएका नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले एमाले वरिष्ठ नेता माधव कुमार नेपालसँग भेटवार्ता गरेका छन् ।
बुधबार बिहान अध्यक्ष ओली सरकारी निवासबाट बाहिरिए लगत्तै अध्यक्ष प्रचण्डलाई भेटेका महासचिव विप्लवले बिहीबार बिहान नेता नेपाललाई कोटेश्वरस्थित उनको निवासमै पुगेर भेटेका हुन् । विप्लव सँगै नेता धर्मेन्द्र बाँस्तोला पनि नेपाल निवास पुगेका थिए ।
सो क्रममा नेता नेपालसँग विप्लवले पछिल्लो राजनीतिक घटनाक्रमका साथै समसामयिक विषयबस्तुमा केन्दीत रहेर छलफल गरेको नेपालनिकट स्रोतले जनाएको छ ।
प्रचण्ड नेतृत्वको माओवादीबाट विद्रोह गरेर भूमिगत राजनीतिमा लागेका विप्लवले पूर्वमाओवादी त्यागेको लामो समयपछि प्रचण्डसँग भेटवार्ता गरेर राजनीतिमा नयाँ मोड ल्याउने चर्चा चलिरहँदा नेपालसँग भेट्नुलाई थप अर्थपूर्ण मानिएको छ।
पछिल्लो समय विप्लव समूहले आफ्ना बन्दीहरुको रिहाइको माग गर्दै आइरहेको छ ।