काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतको असंवैधानिक फैसलाका कारण आफू सरकारबाट बाहिरिनु परेको भन्दै आक्रोश ब्यक्त गरेका छन्।
बुधबार प्रधानमन्त्री निवास बालुवाटार छाडेका ओलीले बालकोटस्थित आफ्नो घरमा पुगेपछि विश्वमा कहि नभएको नजिर अदालतले स्थापना गरेको बताउदै भने, 'अदालतले प्रधानमन्त्री तोक्ने विश्वमा कहिँ नभएको जात्रा नेपालमा भएको छ।'
यस्तै, एमाले अध्यक्ष ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालका कारण आफू बालुवाटारबाट बालकोटसम्म आउन परेकोमा आक्रोश व्यक्त गरे। 'अरु साथीहरुलाई कमजोरी स्वीकार गरेर आए पार्टीमा स्वागत भए पनि नेपाललाई आत्मालोचना, कमिकमजोरी स्वीकार गरे पनि कुनै स्थान छैन,' ओलीले भने।
अध्यक्ष ओलीले बालुवाटारस्थित सरकारी निवास तामझामका साथ छोड्दै गर्दा उनको स्वागतमा एमाले कार्यकर्ताहरु बालुवाटारस्थित सरकारी निवासमा भेला भएका थिए।
गत सोमबार सर्वोच्च अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने गरी परमादेश जारी गरेपछि ओलीको सरकारबाट बहिर्गमन भएको हो ।
२८ असारमा सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापित गर्दै प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश दिएपछि ओली पदमुक्त भएका हुन् ।