सिन्धुपाल्चोक । जिल्लाको बाढी प्रभावित क्षेत्र मेलम्ची र हेलम्बुका बासिन्दालाई सघाउन नेपाली सेलेव्रिटी पनि सक्रिय भएका छन् ।
मंगलबार राति आएको बाढीका कारण थुप्रैले आफ्नो बासस्थान गुमाएपछि राजधानीमा रहेका सेलिब्रेटीहरु सहयोगमा जुटेका हुन्।
यसैबीच, नेपाली सिने क्षेत्रकी अभिनेत्री आँचल शर्माको टोलीले मेलम्चीमा बाढी पहिरो पिडित ५० परिवारलाई राहत सामाग्री वितरण गरेकी छिन् ।
राहत वितरणको लागि आँचल र उनका श्रीमानको साथै निर्देशक मिलन चाम्स, बसन्त निरौला, अभिनेता रितेश चाम्स, ओएसआर डिजिटलका ओम अग्रवाल पनि मेलम्ची पुगेका थिए ।
बिहीबार मेलम्ची पुगेर फर्किएपछि शर्माले सामाजिक सञ्जालमा लेख्दै त्यहाँको परिस्थती नियाल्दा कहालीलाग्दो रहेको उल्लेख गरेकी छिन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन्, ‘आज हामी सिन्धुपाल्चोक पुगेर फर्किएका छौ । त्यहाँको परिस्थती नियाल्दा कहालीलाग्दो छ । सवैको सपना मेल्मचीले बगाएर लगेको छ । तर विश्वास छ हामी सबै नेपालीहरु एक जुट भएर सिन्धुपाल्चोक बासी दाजुभाईदिदी बहिनीहरुको ती बगेका सपनालाई ठूलो पूल बनेर पुरानै लयमा फर्काउनु छ ।
यस्तै, आज धेरै अभियान्ता , कलाकार साथै सहयोगी मनहरु सिन्धुपाल्चोकको सारथी बनेर पुगेको देखियो र हामी पनि त्यस्तै सानो सारथी बनेर पुगेका थियौ । जो जता हुनुहुन्छ जे सक्नुहुन्छ तत्काल सवैले सकेको सहयोग गर्नु पर्ने परिस्थिती हामीले देख्यौ । धन्यवाद छ काठमाण्डौँ देखि हामीसँगै उपस्थित भई सहयोग गर्नुहुने निर्देशक मिलन चाम्स, बसन्त निरौला, अभिनेता रितेश चाम्स, ओएसआर डिजिटलका ओम अग्रवाल र अन्य साथी भाई ।’
Leave a Reply