काठमाडौं । नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले कानुन विपरितका गतिविधिमा कुनै पनि किसिमको सम्झौता नगर्न देशभरका जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायहरुलाई निर्देशन दिएका छन् ।
गृहमन्त्री अधिकारीले आज पदभार सम्हालेलगत्तै ७७ वटै जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई १२ बुँदे परिपत्र गर्दै अपराध नियन्त्रणमा कुनै पनि सम्झौता नगर्न, चुनावी रणनीति तयार पार्न र सरकारबाट सञ्चालित बिकासे आयोजना समयमै सम्पन्न हुने गरी तदारुकताका साथ जिम्मेवारी निर्वाह गर्न प्रशासन र सुरक्षा निकायहरुलाई निर्देशन दिएका हुन । निषेधाज्ञाका कारण बन्द व्यापार र व्यवसाय जनस्वास्थ्यका मापदण्ड पालना गरेर सञ्चालन गर्नेसम्बन्धी कार्ययोजना पेश गर्न पनि परिपत्रमा उल्लेख गरिएको छ ।
गृहले शान्ति सुरक्षा, कोभिड संकट व्यवस्थापन, सीमा सुरक्षा एवं अपराध अनुसन्धान तथा नियन्त्रणमा पनि केन्द्रीत रहन निर्देशन दिएको छ ।
गृहमन्त्री अधिकारीलाई गृह सचिव महेश्वर न्यौपानेले मन्त्रालय र सुरक्षा निकायबाट भइरहेका कार्यसम्पादनको अवस्थाबारे ब्रिफिङ गरेका थिए । गृहको परिपत्रमा जनस्वास्थ्यका मापदण्डलाई पालना गर्दै निषेधाज्ञामा बन्द रहेका आर्थिक गतिविधि सुचारु गर्ने खाका पेश गर्न भनिएको छ ।
परिपत्रमा सीमा नाकाबाट स्वास्थ्य परीक्षण नगरी विदेशीलाई प्रवेश निषेध,सीमा सुरक्षा र व्यवस्थापनलाई पनि कडाइका साथ पालना गर्न भनिएको छ । सीमा नाकासँग जोडिएका जिल्लाहरुले नाकाबाट हुने आवागमनलाई व्यवस्थित गरी अभिलेख राख्ने व्यवस्थाको साथै नेपाल प्रवेश गर्ने यात्रुलाई अनिवार्य स्वास्थ्य परीक्षण गराएर मात्र प्रवेश गर्न दिने व्यवस्था मिलाउन परिपत्र जारी गरिएको छ ।
Leave a Reply