काठमाडौं । कोरोना महामारीका कारण रोकिएको राष्ट्रिय जनगणना साउनदेखि गर्ने तयारी थालिएको छ ।
राष्ट्रिय जनगणना सञ्चालक समितिले राष्ट्रिय जनगणना, २०७८ आगामी साउन १५ देखि असोज १५ गतेसम्म गर्ने प्रस्ताव तयार गरेको हो ।
समितिको उक्त प्रस्ताव मन्त्रिपरिषद्ले निर्णय गरेपछि कार्यान्वयनमा आउने केन्द्रीय तथ्यांक विभागले जनाएको छ । कोरोना संक्रमण दरमा कमी आउन थालेकाले नयाँ मिति प्रस्ताव गरिएको विभागले जनाएको छ ।
यसअघि सरकारले जेठ २५ देखि असार ८ गतेसम्म देशभर एकै पटक राष्ट्रिय जनगणना गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो ।
कोरोनाको संक्रमण बढ्दै गएपछि गत वैशाख २० गतेको मन्त्रिपरिषद् बैठकले जनगणनाको सबै काम स्थगित गर्ने निर्णय गरेको थियो ।
सम्भव भएसम्म यसअघि जनगणनाका काम जहाँबाट रोकिएको थियो त्यहीँबाट बाँकी काम गर्ने विभागले जनाएको छ ।
विभागले ७७ जिल्ला तथा सातवटै प्रदेशमा कार्यालय स्थापना गरिसकेको छ भने जनगणनाका लागि आठ हजार सुपरीवेक्षक र ३९ हजार गणक छनोट गरिसकेको छ । जनगणनाका लागि सरकारले ‘मेरो गणना, मेरो सहभागिता’ नारा तय गरेको छ ।
Leave a Reply