Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

केपीमा पटक्कै सुधार छैन, अब चाहिं नयाँ पार्टी गठन हुन सक्छ : नेपाल 

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट निष्कासित गरेको माधवकुमार नेपाल–झलनाथ खनाल समूहले अब अलग्गै पार्टी निर्माण गर्नसक्ने संकेत गरेको छ । नेपाल–खनाल समूहले जारी राजनीतिक एवं संगठनात्मक टकराव ‘अर्धविद्रोह’ भएको र निटक भविष्यमा ‘पूर्णविद्रोह’ (अलग्गै पार्टी निर्माण) मा बदलिन सक्ने निष्कर्ष निकालेको हो ।

बिहीबार र शुक्रबार बसेको केन्द्रीय कमिटी सदस्यहरुको बैठकका सुझावसहित स्थायी कमिटीबाट पारित १० बुँदे प्रस्ताव सार्वजनिक गर्न आइतबार जारी विज्ञप्ति नेपाल समूहको निष्कर्ष सार्वजनिक भएको हो ।

पार्टी अध्यक्ष ओली पक्षसँगको वार्ता परिणाममुखी हुने सम्भावना कमजोर रहेको भन्दै नेपालले पार्टी फुट्ने संकेत गरेका हुन् । उनले भनेका छन्–‘हामीले चैत्र ४ र ५ गतेको राष्ट्रिय कार्यकर्ता भेलामार्फत् ओलीका सामु समर्पण गर्ने हैन भन्दै अर्धविद्रोह गरेका थियौँ । पूर्णविद्रोह भयो भने त पार्टी फुटी नै हाल्छ । समानान्तर कमिटी बनाउने भनेको अर्धविद्रोह हो । त्यो नयाँ पार्टी बनाउने आधार हो । पूर्णविद्रोह भनेको अर्को पार्टी घोषणा हुने हो ।’

नेपालले थप भने–‘ओली नसुध्रने र वार्ताको कुनै अर्थ नरहने अवस्था भयो भने हामीले अन्तिम विन्दुमा पुगिसकेपछि पूर्णविद्रोह गर्नुपर्ने हुन्छ । अहिलेसम्मका लक्षणले त्यही दिशामा लगिरहेको छ, केपीमा पटक्कै सुधार छैन ।’

ओलीपक्षीय स्थायी कमिटी बैठकले पनि यसअघि नै खनाल–नेपाललगायतका केही शीर्ष नेता पार्टी एकताको पक्षमा नरहेको निष्कर्ष निकालिसकेको छ । खनाल–नेपाल पक्षले ‘पूर्णविद्रोह’का लागि सर्वोच्च अदालतमा विचाराधीन रहेका प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाई कुरेर बसेको पनि जनाएको छ ।

शनिबार बसेको पार्टीको स्थायी कमिटी बैठकले पारित गरेको प्रस्तावमा परिणामविहीन वार्तामा भन्दा वैकल्पिक पार्टी निर्माणको योजनासँग मेल खाने गरी देशव्यापी सबै तहमा कमिटी गठन गर्न निर्देशन दिइएको छ । यसले पनि पार्टी फुटको संघारमा पुगेको आँकलन गर्न सकिन्छ ।

खनाल–नेपाल समूहले अदालतको फागुन २३ को फैसालपछि नवौं राष्ट्रिय महाधिवेशनद्वारा निर्वाचित केन्द्रीय कमिटीलगायत पार्टीका केन्द्रदेखि स्थानीय स्तरसम्मका कमिटीहरु, जनसंगठन र पेशागत संगठनहरुलाई पूर्ववत अवस्थामा फर्काउनुपर्ने माग गर्दै आएको छ । तर, ओली त्यसमा सहमत नभएको खनाल–नेपाल समूहको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077